काठमाडौं :- सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भविष्यमा फेरि उठ्नै नसक्ने गरी पतन हुने दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, बैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको निष्कर्ष निकाल्दै आउँदा केही वर्ष भित्र फेरि उठ्नै नसक्ने गरी पतन हुने बताएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी संघीय परिषद बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपाका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिदै आएको पनि उल्लेख गरे । प्रमुख प्रतिपक्ष कांग्रेस भने आफ्नो असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको अवस्थामा रहेको भट्टराईको विश्लेषण छ ।
संघीय परिषदका अध्यक्ष भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समिक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहकार समेत नगरेकोमा असन्तुष्टि जनाउँदै अव पनि संविधान संशोधन गर्न सर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने बताए ।
भट्टराईले संविधान संशोधनका लागि सत्तारुढ नेकपासँग पुनः पहल गर्ने र त्यसको प्रक्रियालाई अघि बढाउन नचाहेमा सरकारबाट बाहिरिनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे ।