काठमाडौं :- नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा आफ्नो पहिलो खेलमा आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ बाट सुरु हुनेछ ।
नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । उता भारतीय टोली विकेटकीपर बि आर शरथले समाल्ने छन् । पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैले नेपाललाई थप दबाब हुने छ । ओपनरको रुपमा ज्ञानेन्द्र र इशान पाण्डे मैदान उत्रने संभावना छ । इशानले खराब प्रर्दशन गरिरहँदा अर्का आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल पनि ज्ञानेन्द्रको जोडीमा उत्रन सक्छन् ।
दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख शीर्षक्रमका ब्याट्सम्यान हुन् । पछिल्लो समय निरन्तर खराब प्रर्दशन गरि रहेका दीपेन्द्रलाई ठूलो इनिङ खेल्न दबाब छ । शरद नेपाली टोलीकै सर्वाधिक अनुभवी र भरपर्दा ब्याट्सम्यान हुन् । शरदलाई पारस टोलीमा नहुँदा ब्याटिङमा अझ बढि जिम्मेवारी थपिएको छ ।
टोलीमा विकेटकीपर विनोद भण्डारीले गर्ने छन् । उनको विकल्प पनि छैन । राहित कुमार पौडेल र सन्दीप जोरा मध्य एकले मौका पाउने छन् । जसमा रोहितको संभावना बढी छ । सन्दीप टि ट्वान्टीको लागि परिचित रहँदा रोहित ओडीआईको लागि रहेका छन् । सोमपाल कामी र करण केसि अलराउन्डरको रुपमा टोलीमा पर्ने निश्चित जस्तै छ । दुबै ठूलो इनिङ खेल्न सक्छन् । तीब्र गतिको बलिङ युनिटमा पनि करण र सोमपालको नाम नै अग्रस्थानमा आउँछ ।
स्पिनरको रुपमा ललित नारायण राजवंशी र सुसन भारी रहने छन् । तीन तीब्र गतिका बलर खेलाए अभिनास बोहाराले मौका पाउने छन् । नेपालको ब्याटिङ कमजोर भएको हुँदा चार प्रमुख बलर र ७ ब्याट्सम्यान खेलाउन सक्ने अनुमान गरिएको छ । त्यसैले तीन तीब्र गतिका बलरलाई खोलउने संभावना कम छ ।
यता भारतीय टोलीको प्रमुख हतियार शिवम माभी रहेका छन् । तीब्र गतिका बलर कमलेश नगगरकोटी चोटका कारण बाहिरिएपछि माभी आएका छन् । अघिल्लो वर्ष यू१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका माभीले आईपीएल र प्रथम श्रेणी खेली सकेका छन् । प्रथम श्रेणीको अनुभव भएका भारतका स्पिनर सिदार्थ देसाई पनि नेपाललाई घातक बन्न सक्छन् ।