काठमाडौं :- राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको थियो ।
भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।
विगतदेखि नै नेपाल र बंगलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकामा उनलाई धन्यवाद दिइन् ।
दुई देशबीच रहेको सम्बन्ध जनस्तरमासमेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन् ।
बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रशन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता संग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरे ।
बंगलादेशलाई स्वतन्त्र राष्ट्रकारूपमा मान्यता दिने नेपाल सातौं मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए ।
नेपाल भ्रमण गर्ने निम्ता दिएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै, बंगलादेशका उच्च अधिकारीकोसमेत सो अवसरमा सहभागिता थियो ।
यसअघि, राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भेटवार्ता भएको थियो ।
त्यस्तै, बुधबारै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।
उनीहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।
जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदान–प्रदान भएको थियो । रासस