डाक्टर केसीको समर्थकमाथि प्रहरी हस्तक्षेप, डडेल्धुरा सदरमुकाम तनावग्रस्त

डडेल्धुरा :-  प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन गर्दै भीड बढ्न थालेपछि आज प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपसँगै डडेल्धुरा सदरमुकाम तनावग्रस्त बनेको हो ।

हिजोसम्म सरकारी गाडी आवतजावतमा रोक लगाएका डडेल्धुराबासीले आज सम्पूर्ण यातायातका साधन ठप्प पारेका छन् । उनीहरुले जिल्लाको चोक चोकमा बसेर डा. केसीको समर्थनमा प्रदर्शन गरिरहेका छन् । केसीको अनसनको आज आठौं दिन हो ।

दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था खस्कदै गएपछि सरकारले हेलिकप्टरमार्फत उनलाई जवरजस्ती काठमाडौं ल्याउन खोजेको छ । उनलाई काठमाडौं ल्याउनको लागि डडेल्धुरास्थित दह आर्मी व्यारेकमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ भने अस्पतालभित्रै एम्बुलेन्स समेत राखिएको छ ।

अहिले अस्पताल परिसर भित्र बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारी भने अस्पताल परिसर बाहिर रहेर प्रदर्शन गरिरहेका छन् । अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ । यस्तै शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालमा आईसीयु नहुँदा चिकित्सकलाई केसीको उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

यसैबीच नागरिक समाज, जिल्लाका संघसंस्था, पेशाकर्मी, राजनीतिक दलहरुको बैठक बस्दैछ । बैठकले केसीलाई काठमाडौं ल्याउन दिने की नदिने भन्ने निर्णय गर्ने बताइएको छ । उक्त आन्दोलनमा नेकपाको भने समर्थन रहेको छैन ।

प्रतिक्रिया दिनुहोस