अत्तरिया :- कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना—राजघाट पुल अलपत्र परेको छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।
कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्न लाग्दा पनि पुल निर्माण हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो ।
सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिएपछि सडक विभागले निर्माण अवधि दुई वर्ष थप गर्दा पनि थपिएको एक वर्षमा पुल बन्न सकेको छैन । पछिल्लो पटक थप गरिएको समय गत असारमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।
ठेकेदारको लापरवाहीले दुईपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेको डिभिजन कार्यालयका प्रमुख अर्जुन बमले बताए । कूल १२० मिटर लामो पुलका लागि तीन वटामध्ये दुईवटा ‘स्पान’ बन्न बाँकी रहेको बताउँदै बमले भन, “तेस्रो स्पान राख्नका लागि अहिले माटो भरणको काम भइरहेको छ । ठेकेदारले राम्ररी काम गरे जेठभित्र पुल बन्छ”, उनले भने, “जतिसक्दो चाँडो सक्ने गरी काम गराउने पहल गरिरहेका छौँ ।”
निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्लले अवधि थपको मागसहित निवेदन दिएको बताइएको छ । पुल बनाउने म्याद दुईपटक थप गर्दा पनि काम नभएकाले अब म्याद थप नहुने डिभिजन प्रमुख बमको भनाइ थियो । काममा लापरवाही गरेको निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने उचित कारण र प्रमाण सिद्ध गर्न नसकेकाले म्याद थप नहुने सडक डिभिजनले जनाएको छ ।
शुरुमा सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । अझै करीब ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको सडक डिभिजनले जनाएको छ । पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । बर्खायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ ।
दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि दैनिक तीन÷चार सय जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेको स्थानीयवासी कमल चौधरीले बताए ।