बागलुङ :- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागी उम्मेदवार सेरमान घर्तीले उम्मेदवारी फिर्ता नलिए पनि गठबन्धनलाई सघाउने भएका छन् ।
आइतबार निर्वाचन आयोगले तोकेको समयभित्र उनले उम्मेदवारी फिर्ता लिएनन् । हेलिकप्टरमा हालेर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइए पनि उनी आइपुग्दा दिउँसोको साढे १ बजिसकेको थियो । उम्मेदवारी फिर्ता लिने समय १ बजेमात्र सम्म थियो । आयोगले उनलाई सोमबार स्वतन्त्रबाट चुनाव चिन्ह दिनेछ ।
उमेदवार भए पनि घर्तीले आफैंलाई भोट भने नमाग्ने वाम गठबन्धनलाई सघाउने बताएका छन् । समय भित्रै उम्मेदवारी फिर्ता नगरेपछि उनले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत् नै वाम गठबन्धनलाई सघाउने जनाएका हुन् ।
उनले बाग्लुङको पश्चिमी भूगोललाई छुट्टै जिल्ला बनाउने आफ्नो माग रहेकोले शिर्ष नेताहरुले आश्वासन दिएपछि वामलाई सघाउन थालेको बताए । चार वर्षअघि प्रदेश सीमांकनको क्रममा पनि बागलुङलाई पूर्वी र पश्चिम भनेर विभाजन गरिएको थियो ।
पश्चिम बागलुङलाई पाँच नम्बर प्रदेशमा राखिएको थियो । अहिले भने उनै नेकपाका बागी उम्मेदवार घर्तीले पश्चिम बागलुङको शर्तमा नेकपा र जनमोर्चाको गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका हुन् ।