दाङमा चुनावी रौनक : बिमला र केशवराजबीच कडा प्रतिस्पर्धा

दाङ :-  आगामी मंसिर १४ गते हुन लागेको दाङको क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा निर्वाचनमा दलहरुको चुनावी तयारी सुरु भएको छ ।

मनोननय दर्ता भएसँगै उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न प्रयासहरु गरिरहेका छन् ।

प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त रहेको दाङको  क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्यका लागि १४ जनाको उम्मेद्वारी दर्ता भएसँगै चुनावी रौनकता बढेर गएको छ ।

जसमा क्रियाशील १२ वटा दल र दुई जना स्वतन्त्र उम्मेदवारसहित १४ जनाको मनोनयन दर्ता भएको छ । अघिल्ला निर्वाचनमा जस्तै यस पटक पनि दलहरुमा उत्साह देखिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकी जीवनसंगीनी बिमलाकुमारी खत्री ओलीले उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट केशवराज शर्माको उम्मेदारी परेको छ ।  अन्य दलहरुले पनि आ–आफ्ना उम्मेद्वार खडा गराएका छन् ।

यसपटकको निर्वाचनमा आफ्नो पक्षमा परिणाम पार्न दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली  काँग्रेसले बढी सक्रियता देखाएका छन् ।

नेकपाबाट उम्मेदार दिएकी विमलाकुमारी खत्री ओलीले यस क्षेत्रबाट आफ्नो जित सुनिश्चित भएको दाबी गर्छिन ।

त्यस्तै वर्तमान सरकारले जनभावनालाई बेवास्ता गरेर मनोमानी क्रियाकलाप गरेकाले यस निर्वाचनमा आफ्नो जित हुने काँग्रेसका उम्मेद्वार केशवराज शर्माको तर्क छ ।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेद्वार उत्तरकुमार ओलीले २३ हजार ९ सय ७० मत ल्याउँदै विजयी भएका थिए भने काँग्रेसका बुद्धिराम भण्डारीको १७ हजार ५ सय ३५ मत आएको थियो ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस