दाङ :- प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी असहाय बाल विकास नेपाल दाङ बिजौरीमा अनुगमन गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा रहेको असहाय बाल विकास नेपालको अनुगमन गर्नुभएको हो । अवलोकन गर्दै मन्त्री केसीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानले सरकारलाई सहयोग पुगेको बताउनुभएको थियो । ‘ अहिलेसम्म सरकारले पनि यसरी अनाथ बालबालिकालाई उचित पालनपोषण तथा शिक्षादिक्षा दिन सकेको छैन’ उहाँले भन्नुभयो ‘तर यसरी एउटा संस्थाले १७ जना सहयोग नपाएका बालबालिकाहरुलाई साहारा दिएको छ, यो सरकारका लागि पनि ठूलो सहयोग हो ।’।
अवलोकनका क्रममा मन्त्री केसीले संस्थालाई प्रदेशकै असहाय बालकालिकाको केन्द्र बनाउने गरि तयारी गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्यलाई प्रदेश सरकारले पनि पूर्ण सहयोग गर्ने र स्थानीय तथा केन्द्र सरकारमा बजेट व्यबस्थापन गर्न पहल थाल्ने बताउनुभयो ।
उक्त अनुगमनमा जनता विद्यापीठका निमित्त प्राचार्य योगराज शर्मा, व्यवसायी प्रेमनाथ योगी, नेकपा नेता राम वहादुर दहित, संस्थाका सल्लाहाकार विनय पोख्रेल, न्यू स्टार वोडिङका प्रिन्सिपल शरण जिएम, यातायात व्यवसायी सुमन पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।
त्यस अवसरमा संस्थाका अध्यक्ष बिष्णु चौधरीले अहिलेसम्म संस्थालाई कुनै पनि निकायबाट सहयोग नभएकाले सबै खर्च घरबाटै ब्यहोर्ने गरेको बताउनुभयो । ‘अभिभावकविहिन बालबालिकाहरुलाई हामीले पालन पोषण गर्दै आएका छौं’ चौधरीले भन्नुभयो । सरकारी निकायबाट सहयोग भएको छैन्, घरबाट त्यो खर्च जुटाउने गरेका छौं चौधरीले भन्नुभयो ।
हाल केन्द्रमा दाङ, रुकुम, रोल्पा, सल्यान,जुम्ला जिल्लाका १७ जना बालबालिकाहरुले अध्यय गरिरएका अध्यक्ष बिष्णु चौधरीले जानकारी दिनुभयो ।।