काठमाडौं :- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतविरुद्ध भइरहेको आन्दोलन सशक्त पार्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।
भारतले लिपुलेका कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेपछि भइरहेको बिरोध कायक्रमलाई सशक्त पार्न सभापति देउवाले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका हुन् ।
नेविसंघ नेताहरुसँग शनिबार बिहान बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा सभापति देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको विद्यार्थी नेताहरुले जानकारी दिए ।
शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न सभापति देउवाले निर्देशन दिएको नेताहरुले बताए । उनले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताए ।