बाग्लुङमा चुनावी रौनक : नेकपालाई ‘बागी उम्मेदवार’ले तनाव, कांग्रेस फाइदा लिने दाउमा

डम्मर बुढा मगर/बागलुङ :- आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको तयारीका लागि बाग्लुङमा चहलपहल बढेको छ ।

प्रदेश सदस्यका लागि हुने उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु लागि परेका हुन् ।

निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता भएसँगै बागलुङ क्षेत्र नम्बर २ (ख)मा चुनावी सरगर्मी बढेको हो । उम्मेद्वारी दर्तासँगै दलहरुले घरदैलो अभियानलाई समेत तीव्रता दिन थालेका छन् ।

यसअघि जित हात पारेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धन यस पटक पनि परिणाम आफ्नो पोल्टामा पार्ने दाउमा देखिन्छ ।

काँग्रेसले पनि यस क्षेत्रबाट आफ्नो उम्मेद्वारलाई विजयी बनाउने तयारीका साथ सक्रियता बढाएको छ ।

उक्त निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट जनमोर्चाका खिमविक्रम शाहीको उम्मेद्वारी परेको छ भने काँग्रेसका तर्फबाट अघिल्लो चुनावमा पराजित भएका जितबहादुर शेरचनलाई अघि सारिएको छ ।

केन्द्रका शीर्ष नेताहरुले मनोभाव नबुझी एकलौटी रुपमा तालमेल गरेको भन्दै नेकपाका नेता शेरमान घर्तीले भने स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । उनलाई नेकपाबाट बागी उम्मेदवारका रुपमा हेरिएको छ ।

गत चुनावमा वाम तालमेलबाट राष्ट्रिय जनमोर्चा विजय भएको हुँदा यस पटक पनि आफ्नो जित सुनिश्चित भएको वाम गठबन्धनका उम्मेद्वार खिम विक्रम शाहीको दाबी छ ।

उता काँग्रेसका उम्मेद्वार जितबहादुर शेरचन पनि वर्तमान सरकारको कामप्रति जनता आजित भएकाले विकल्पका रुपमा आफूलाई विजयी गराउने धारणा राख्छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेद्वार शेरमान घर्ती आफूले निरन्तर जनताको पक्षमा काम गरिरहेकाले जित हासिल गरेरै छाड्ने दाबी गर्छन ।

प्रदेश सांसद टेक बहादुर घर्तीको निधन भएपछि यस क्षेत्रमा उप–निर्वाचन हुन लागेको हो ।

जसका लागि स्वतन्त्र उम्मेद्वार सहित १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय बागलुङका अनुसार यस क्षेत्रमा २ हजार ३ यस ९४ नयाँ मतदाता थपिएका छन् ।

यसअघि वाम गठबन्धनका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएर जित हासिल गर्दा काँग्रेसका जीत बहादुर शेरचनकोे पक्षमा ८ हजार ६ सय २४ मत परेको थियो ।

प्रतिक्रिया दिनुहोस