नेपाली हौं कि होइनौँ भन्नेमा शंका लागेको छ: मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं :-   प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको द्वैध व्यवहारका कारण प्रदेश दुई नेपाल भित्र छ कि छैन भन्नेमा शंका लागिरहेको बताएका छन् ।

नेपाल साहित्य उत्सवमा आयोजित कार्यक्रममा प्रदेश वा परदेश शिर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले देश भौगोलिक रुपमा एकीकरण भएपनि भावनात्मक रुपमा एकीकरण हुन नसकेकाले यस्तो अवस्थाको श्रृजना भएको बताए । उनले संघ सरकारकै चरित्रका कारण हामी नेपाली हौं कि होइनौँ भन्ने शंका समेत लागि रहेको बताए ।

देशको बाँकी ६ प्रदेशमा एक पार्टीको सरकार र प्रदेश दुईमा मात्रै फरक पार्टीको सरकार रहेकाले संघ सरकारले समान व्यवहार गर्न नसकेको आरोप लगाए ।

मुख्यमन्त्री राउतले बजेट उपलब्ध गराउनेदेखि लिएर अन्य सुविधा उपलब्ध गराउन सम्ममा प्रदेश दुईको सरकारसंग बेइमानी भईरहेको गुनासो गरे ।

उनले भने ‘बजेट बाँड्ने बेलामा सबै प्रदेशलाई समान रकमा दिइन्छ, पछि अन्य रकम भित्र भित्रै उपलब्ध गराउँदा प्रदेश दुईलाई छोडेर उपलब्ध गराइन्छ के यो समान व्यवहार हो ?’ मुख्यमन्त्री राउतले अगाडी भने‘ म अमेरिका जानका लागि रहदानी बनाउने प्रकृया अगाडी बढाएको छु, मेरो बन्न सकेन तर शेरधन राई लगायतका अन्य मुख्यमन्त्रीहरु कयो पटक विदेश भ्रमण गरेर आई सके के यो असमान व्यवहार होइन ?’

संघ सरकारले खुटा तान्ने प्रवृति नछोडेसम्म संघियता कार्यान्वयन र देशको विकास सम्भव हुन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस