विद्या भट्टराईः नेविसंघको गुण्डागर्दीलाई तह लगाउने आँटिली केटी

अनुराधा पौडेल/काठमाडौं :-  कास्की २ मा प्रतिनिधिसभाकी उम्मेदवार बिद्या भट्टराईले झोला बोकाएको एकतर्फी कथा पढेर हैरान छु । बिद्यालाई मैले २०४७ सालदेखि चिन्छु । हामीहरु पद्मकन्या क्याम्पसका बि ए पढ्दासम्मका सहपाठी थियौँ । उनी मास्टर गरीवरी क्याम्पसको शिक्षिका भइन र बच्चा पनि हुर्काइन् । क्याम्पस पढ्दा उनले पद्म कन्या क्याम्पसमा नेविसँघको मात्र होइन अखिलको पनि उपस्थिति छ भनि कमिटी गठन गर्ने र कमिटीमा बस्ने आँटिली केटी हुन् उ बेलै ।

२०४७, ४८ तिर पद्म कन्या क्याम्पसमा नेविसँघका नानीहरु अखिलका केटी भनेपछि कपाल भुत्ल्याउन जान्थे । एकछत्र राज थियो उनीहरुको । एक खालको नेविसंघ आतँक मच्चाउँथे पूर्व मन्त्री कमला पन्त र नानूहरुले । (नानू स्वर्गे भइन । उनी पनि भरभराउँदी नेतृ थिइन्) यस्तोमा पनि बिद्या र उनका साथीहरु शान्त, इमान्दार र लगनशील देखिन्थे । भोलिका दिनमा बिद्या कस्ती बन्लिन् भन्ने कुरा पदमा पुगेपछि थाह हुन्छ । नत्र आजसम्म उनलाई खोट लाउने ठाम छैन ।

शारीरिक रुपमा बिद्यालाई हिड्नमा कठिनाई छ । तपाई हामी जस्तो उनी खुरुरु दौडिन सक्दिनन। उनी बिस्तारै हिड्छिन् बिस्तारै बोल्छिन् । त्यसैले उनको साथमा देवर हुनु र भाउजुलाई पार्टीले दिएको जिम्मेवारी पूरा गराउनका लागि देवरले मद्दत दिनु स्वभाविक हो ।

                      लेखक

तपाई टिप्पणी गर्नेहरुका भाउजु हुनुहुन्छ कि हुनुहुन्न कुन्नी घरमा ? अनि तपाईहरुको संस्कार के छ कुन्नी । पश्चिमी सँस्कार भनौ या गण्डकी अन्चलको सँस्कार । देवरहरु भाउजुहरुलाई आमा सरह मान्छन् । भाउजुहरु देवरलाई बाबु या नानी भनेर बोलाउँछन् छोरा छोरीलाई जस्तै । भाउजुहरुको भारी बोकिदिने कुरो केहि नौलो होइन । उहिले उहिले देवर र आफ्ना छोराछोरी सँगै हुर्कन्थे ।

बिद्याको बारेमा राजनीतिक चेतनाको बहस गरौँ । उनको बौद्धिक क्षमताको कुरा गरौँ तर झोला बोकाएको जस्ता मनगढन्ते कुरा नगरौँ । मनगढन्ते कुरा सुन्दा जति तपाईको मन छिया छिया हुन्छ उनी पनि मानिस् हुन् र उनको पनि मन दुख्छ ।

उनी रहरले भन्दा पनि पार्टीले दिएको जिम्मेवारी पुरा गर्न खान पुग्ने जागिर छाडेर मूल धारको राजनीतिमा आएकी छिन् । राजनीतिमा कसैलाई पनि आउन नदिने र आफू पनि नआउने गरी निस्तेजको राजनीति नगरौ । उनलाई पनि टेस्ट गरी हेरौँ । आखिर देश हाक्ने त राजनीति गर्नेहरुले नै हो नि ।

मन दुखेकोले यति लेखेँ । बिद्याले पढ्लिन भनेर लेखेको होइन र उनलाई फुर्काउन पनि लेखेको होइन ।

प्रतिक्रिया दिनुहोस