कास्कीमा चुनावी रौनक: परिणाम आफ्नो पक्षमा पार्न यस्तो रणनीति

प्रदीप पौडेल/पोखरा । आगामी मंसिर १४ गते हुने उप निर्वाचनको तयारीका लागि कास्कीमा चहलपहल बढेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि हुने उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु लागिपरेका हुन् ।

बिहीबार निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता भएसँगै कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । उम्मेद्वारी दर्तासँगै दलहरुले घरदैलो अभियानलाई समेत तिब्रता दिएका छन् ।

प्रतिनिधिसभा सांसदको चुनाव भएकाले पनि यसलाई विशेष चासोका रुपमा हेरिँदै आइएको छ । यसअघि पनि जित हात पारेकाले यस क्षेत्रलाई कुनै हालतमा गुमाउन नदिने सत्तारुढ नेकपाको मनसाय छ ।

काँग्रेसले पनि यसलाई आफ्नो पोल्टामा पारेर वर्तमान सरकार अलोकप्रिय भएको सन्देश दिन खोजिरहेको छ । यस क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारसहित विभिन्न राजनीतिक दलका २५ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाको तर्फबाट विद्या भट्टराईको उम्मेद्वारी परेको छ भने काँग्रेसका तर्फबाट खेमराज पौडेलले उमेदवारी दर्ता गराएका छन् ।

भट्टराई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नीसमेत छिन् । यसअघि अधिकारी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

काँग्रेसका खेमराज पौडेल पनि पार्टीमा अवसर नपाएका तर निष्ठावान् नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै पछिल्लो समय निकै सक्रियता देखाइरहको साझा पार्टीले पनि रजनी केसीलाई उम्मेद्वार बनाएको छ ।

विगतदेखि नै नेकपाले जित्दै आएकाले यस क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको नेकपाकी उम्मेद्वार विद्या भट्टराईको दाबी छ ।

उता काँग्रेसका उम्मेद्वार खेमराज पौडेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित रहेको धारणा राख्छन ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार उपनिर्वाचनको लागि कास्की क्षेत्र २ मा १ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

यसअघि तत्कालीन नेकपा एमालेका उम्मेद्वार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत  र प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

यस निर्वाचनबाट देशभरीकै समग्र जनमत प्रतिबिम्बित हुने टिप्पणी पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस