रामेछाप जिल्लामा २३ हजार ९८ जना नागरिकले स्वास्थ्य विमा गराए

रामेछाप – रामेछाप जिल्लामा हाल सम्म ७ हजार ६ सय २५ परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वाथ्य विकास समिति मार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा रामेछापका सर्वसाधारणहरुको सहभागिता बढ्दै गएको देखिएको छ । कार्यक्रम लागु भएको २२ महिनामा जिल्लाका ७ हजार ६ सय २५ परिवारका २३ हजार ९८ जनाले स्वास्थ्य विमा गराएका हुन् ।जसमा १२ हजार २ सय २ जना पुरुष र १० हजार ८ सय ९६ जना महिला रहेको स्वास्थ्य बीमा बोर्ड रामेछापका प्रमुख यज्ञराज ढुंगेलले जानकारी दिए। कार्यालय प्रमुख ढुंगेलका अनुसार जिल्लामा सवैभन्दा धेरै मन्थली नगरपालिकाका नागरिकहरुले स्वास्थ्य विमा गराएका छन् । मन्थली नगपालिकाका ७ हजार ६ सय ९९ जना, रामेछाप नगरपालिकाका १ हजार ७ सय १९ जनाले मात्रै स्वास्थ्य विमा गराएका छन् ।स्वास्थ्य बीमा बोर्ड रामेछापका प्रमुख ढुंगेलका अनुसार लिखु तामाकोशी गाउँपलिकाका १ हजार ७ सय ८२ ,गोकुलगंगा गाउँपालिकाका २ हजार १ सय ९९ , उमाकुण्ड गाउँपालिकाका १ हजार ९ सय १८ जना नागरिकले आफ्नो स्वास्थ्य विमा गराएका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाका १ हजार ४ सय ९९ ,दोरम्वा गाउँपालिकाका २ हजार ५ सय ३६ र सुनापति गाउँपालिकाका ३ हजार ७ सय ४६ जनाले स्वास्थ्य विमा गराएको स्वास्थ्य बीमा बोर्ड रामेछापका प्रमुख ढुंगेलले बताए । हालसम्म जिल्लाका २ हजार ४५ जना ७० बर्ष कटेका जेष्ठ नागरिकले स्वास्थ्य बिमा गरएको उनको भनाई छ । स्वास्थ्य विमा गराएका नागरिकहरुले जिल्ला अस्पताल रामेछाप,मन्थली ,गेलु र खिम्ति प्राथमीक स्वास्थ्य केन्द्र ,जिल्ला आँखा केन्द्र,तामाकोशी सहकारी अस्पताल मन्थली ,जिल्ला अस्पताल दोलखा र धुलिखेल अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले ३ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा प्रति सदस्य ७ सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस