मलेसिया रोजगारीः स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं :- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनैपनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न/नगराउन सूचित गराएको छ ।

विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ ।

पूर्वस्वीकृति लिइ विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ ।

विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भइ छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’कालगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ ।

विभागबाट पूर्वस्वीकृति नलिइ कामदार भर्नासम्बन्धी कुनैपनि गतिविधि गर्न पाइँदैन ।

तर, पछिल्लो समय पूर्वस्वीकृति नलिइ मलेसिया रोजगारीको नाममा झन्डै एक लाखभन्दा बढी कामदारबाट अवैधरूपमा ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ भन्दै रकम असुल भइरहेको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस