भारतको नयाँ नक्सामा नेपालकोे कालापानी पनि समावेश

काठमाडौं :-  भारत सरकारले शनिबार जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा अवस्थित कालापानी क्षेत्रलाई भारतीय भूभागको रुपमा समावेश गरेको छ ।

कालापानी क्षेत्रमा भारतले गरेको कब्जाको विषयमा निरन्तर आवाज उठाउँदै आएका पूर्व सचिव द्वारिकानाथ ढुंगेल नेपालले भारतद्वारा जारी नयाँ राजनीतिक नक्साको विरोध गर्नुपर्ने बताउँछन्।

‘यस विषयमा आफ्नो धारणा के हो सरकारले स्पष्टसँग राख्नु पर्छ। तर अहिलेसम्म औपचारिक रुपमा सरकारले केही भनेको छैन,’ ढुंगेलले भने। प्रारम्भिक सरकारी सेवामा रहँदा कालीपानी रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरेका ढुंगेलले भारत सरकारको पछिल्लो कदम मानचित्रमाथिको आक्रमण (क्यास्टोग्राफिक एग्रेसन) भएको उनको भनाइ छ।

यस विषयमा नापी विभागले पनि अध्ययन सुरु गरेको छ। भारतले जम्मु तथा कश्मीरलाई दिँदै आएको विषेश राज्यको मान्यता खारेज गरेर नयाँ राजनीतिक संरचना निर्माण गरेपछि शनिबार नयाँ नक्सा जारी गरेको हो। जसमा भारतले नेपालसँग विवादित क्षेत्र कालापानीलाई आफ्नो भनेको छ।

‘सुस्ता र कालापानीको विषयमा विवाद छ। यो विषय दुवै देशका सचिवस्तरीय कमिटीमा छलफलमा छ। नापी विभागले त्यसलाई प्राविधिक रुपमा सहयोग गर्ने हो,’ नापी विभागका महानिर्देशक दीपक जोशीले भने, ‘हामीलाई औपचारिक रुपमा यस विषयमा केही जानकारी आएको छैन। तर हाम्रा प्राविधिक टिमले अध्ययन भने गरिरहेको छ।’ जोशीले त्यस विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै जानकारी नआएको बताए।

भारतले जारी गरेको नयाँ नक्सामा जम्मु तथा कस्मिर दुई फरक प्रशासनिक क्षेत्रमा विभाजन गरेको छ। यो नक्सालाई पाकिस्तानले मान्न अस्वीकार गरेको छ।

सन् १९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक निर्माण गरेको थियो। भारतीय पक्षले कृत्रिम नदी निर्माण गरेको छ । भारत त्यसैलाई काली नदीको उत्पत्तिस्थल दाबी गर्छ र कालापानी नियन्त्रणमा राखेको छ । तर, नेपालले कालापानी आफ्नो भूभाग भएको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस