चन्द्रकला भण्डारी/भद्रपुर :- प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन ।
उनी विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित भएका थिए ।
झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका थिए ।
झापा आन्दोलनमा सक्रिय उनी विद्यार्थीकालमा विसं २०२७ मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी भएका थिए ।
पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल परेका उनी झापाकै पुराना जुझारु कम्युनिस्ट नेता मानिन्छन् ।
विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओली, सिपी मैनालीलगायतसँगका समकालीन नेता हुन ।
तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको थियो ।
लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी लामो अवधिसम्म भारतमा निर्वासित हुनुपरेको थियो ।
निर्वासनमा रहँदासमेत उनले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गरेका थिए ।
विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायतविरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उनलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो ।
विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उनलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो ।
विसं २०६२/६३ को आन्दोलनमा उनी झापामा आन्दोलनका नायक नै मानिन्थे ।
विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनी प्रहरी दमनमा परेर गम्भीर घाइते भएका थिए ।
उनी तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए ।
उनले आफ्नो कार्यकाल पञ्चायतविरोधी गतिविधिमा केन्द्रित गरे र पार्टीको सङ्गठन विस्तारमा लागिरहे ।
उनलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उनीलाई ‘झापाली टाइगर’ भनिन्थ्यो ।
विसं २०५४ मा उनी जिल्ला विकास समितिको उपसभापतिमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भए ।
विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।
साथै उनी तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए ।
झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किए तापनि उनी किसान, मोही हकवाला र मजदुर वर्गको असल मित्र थिए ।
उनले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेका थिए ।
उनी विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।