कोहलपुर घट्ना : प्रहरी आचरण उल्लंघन गरेकोबारे डिएसपी शाहीमाथि छानविन हुने

नेपालगञ्ज :- इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक(डिएसपी) हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ ।

शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको हो ।

एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

आज गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको छ ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस