पूर्वसभामुख महराको मुद्धामाथि आजदेखि थुनछेक बहस सुरु

काठमाडौं :- जबर्जस्ती करणी उद्योगको मुद्धा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्धामाथि आजदेखि थुनछेक बहस सुरु भएको छ ।

गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस थालिएको हो ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करीब ७ घण्टा बयान लिएपछि आजका लागि बहस तय गरिएको हो । प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

उनीमाथि गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको उजुरी परेको थियो । शाहीले नै आफूमाथि यौन दुव्र्यवहार भएको बताएकी थिइन् ।

१४ गते महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनी त्यसपछि सभामुखको सरकारी निवासमै बसिरहँदा रोशनीले प्रहरीमा ‘बलात्कार प्रयास’ को उजुरी दिएपछि असोज १९ गते साँझ महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले मागेको म्यादमा अदालतले समय थपिदिएको थियो । त्यसयता महरा बिरामी भएको भन्दै अहिलेसम्म नर्भिक अस्पतालमै उपचाररत छन् ।

आइतबारको बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ-आफ्नो पक्षमा बहस गर्नेछन् । त्यही बहस, प्रमाण लगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ ।

यो बहसपछि इजलासले मुलुकी फौजदारी कार्य्विधि संहिता ऐन, २०७५ मा पुर्पक्षमा राख्ने, धरौटी खुल्ने वा साधारण तारेखमा छोड्ने भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस