नदीनालामा पानी छैन, घर छेउछाउ साना खाडल खनेर छठ मनाइयो

प्रकाश मैनाली/सर्लाही :-  पछिल्ला समय सर्लाहीलगायतका जिल्लाका नदीनालाहरुमा जलवायु परिवर्तनको नकारात्मक असर देखा पर्न थालेको छ ।

केही वर्ष पहिले बाह्रै महिना अविरल बहने नदी वर्षायाम सकिएसँगै सुक्न थालेपछि त्यसको असर सामाजिक सांस्कृतिक पक्षमा देखिन थालेको हो ।

खोला नाला तथा तलाउहरुमा पानी सुकेका कारण छठका समयमा सर्लाहीबासीले पनि ठूलो समस्या भोग्नुपर्‍यो ।

जसको परिणामस्वरुप व्रतालुहरुले आफ्नै घर छेउछाउ साना खाडल खनेर आफ्ना चाडपर्वलाई निरन्तरता दिएका छन् ।

विशेष गरी छठ पर्व खोला, ताल, पोखरी तथा जलाशयमा गई सामूहिक रुपमा मनाइन्थ्यो तर पछिल्लो समय यस्ता ठाँउमा पानीको स्रोत कम हुन थालेपछि र खोलाहरुमा बर्षायाममा मात्र पानी बहन थाले छठ पर्व मनाउँदा समस्या भएको स्थानीयको गुनासो छ ।

कसैले कुवा खनेर त कतिपयले पानी जम्मा गरेर समेत छठ पूजा गर्नुपर्‍यो ।

प्रकृतिसँग प्रत्यक्ष सम्बन्धित यस पर्वमा ७२ प्रकारका कृषि उपजलाई पूजाको प्रसादका रूपमा प्रयोग गरिन्छ ।

तर सिँचाइको अभाव र व्यावसायिक रुपमा कृषि उत्पादन गर्न नसक्दा ती सबै सामग्रीहरु जुटाउन नसकिएको स्थानीय बुद्धिजीवी राममिलन राय बताए ।

वर्षायाममा बग्ने पानीको सदुपयोग गर्न सके कृषि र विद्युत् क्षेत्रको विकासबाट आर्थिक उन्नति हासिल गर्न सकिने सम्भावना पनि रहेको छ ।

त्यसको लागि वर्षायममा मात्र बग्ने खोलालाई चुरेफेदीमा ड्याम बनाएर जम्मा गर्न सकिने भए पनि बजेट अभावका कारण गाह्रो भएकोे लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्को भनाइ छ ।

बढ्दो सहरीकरण, वन विनास, चुरे दोहनसँगै जलवायु परिवर्तनको असरका कारण यस्तोे समस्या आएको वातावरण विदहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस