महरालाई सात घण्टा उभ्याएर बयान, थुनछेक बहस आइतबार

काठमाडौं :- जबरजस्ती करणी उद्योगको मुद्धा लागेका पूर्व सभामुख कृष्णबहादुर महराको आज(शुक्रबार) बयान सकिएको छ ।

बिहान काठमाडौं जिल्ला अदालत पेश गरिएका महरालाई न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासले करिब सात घण्टा बयान लिएको थियो ।

उनको मुद्धामाथि थुनछेक बहस आगामी आइतबार हुने भएको छ । बयानका क्रममा महरालाई इजलासमा सर्वसाधारण सरह ७ घण्टा उभ्याइएको थियो ।

प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जवरजस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि महरा गत असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

स्वास्थ्यमा खराबी देखिएको भन्दै उनी निरन्तर नर्भिक अस्पतालमा उपचारका क्रममा रहेका छन् ।

थुनछेक बहस भएपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

महरालाई मुलुकी अपराध संहितअन्तर्गत जबरजस्ती करणी उद्योग र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नै सहकर्मी कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप गरी साढे सात वर्षसम्म जेल सजायको माग गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस