उपनिर्वाचनमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग सहकार्य गर्ने, चाँडै मापदण्ड तयार

काठमाडौं :- नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ ।

पार्टी सभापति  शेरबहादुर देउवा  निवास बुढानिलकण्ठमा आज बसेको शीर्ष नेताहरुको बैठकले उपनिर्वाचनका लागि सबै स्थानमा उम्मेदवारी दिने र कांग्रेसको उम्मेदवारलाई सघाउन अन्य दलहहरुसँग छलफल गर्ने विषयमा कुरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै बैठकले पार्टी जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा खटिएका प्रतिनिधिहरुलाई बोलाएर त्यहाँको अवस्थाबारे जानकारी लिएको छ ।

कात्तिक १७ गते भित्र तीन प्रदेश सभा र एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रका  लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गरिने पनि प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसले पार्टी भित्र अन्तरघात रोक्न सके चारै क्षेत्र जितिने आँकलन समेत गरेको छ । भोलि बस्ने केन्द्रीय समितिले उम्मेदवार चयनको मापदण्ड र मोडालिटी तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस