उपत्यका भित्रनै ७ ठाउँमा बम भेटियो ३ ठाउँमा बिस्फोट ३ को मृत्यु, ९ पक्राउ।

काठमाडौँ- आइतबार काठमाडौँ उपत्यकाका ३ स्थानमा बम विस्फोट भएको छ भने ४ स्थानमा शंकास्पद बम भेटिएको छ। सुकेधारा, घट्टेकुलो र नागढुंगामा बम विस्फोट भएको छ।

दिउँसो लगभग एकै समय सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी ३ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ। ती दुर्घटनामा परी अन्य ६ जना ‍घाइते भएका छन्।

यसैगरी कोटेश्वर सातदोबाटो, ग्वार्को र लगनखेलमा भने शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।

आइतबार साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्।

सो विस्फोटमा परेको आशंकामा आदिनारायण इटाभट्टा नजिकैबाट बा २८ प ८१४५ मोटरसाइकलमा सवार २ जना पक्राउसमेत परेका छन्।

यसैगरी प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लगनखेल, सातदोबाटो र ग्वार्कोमा पनि शंकास्पद विस्फोटक पदार्थ फेला परेको छ।

शंकास्पद वस्तु फेला परेको स्थानमा डिस्पोजल टोली पुगिसकेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन।

कोटेश्वरबाट पक्राउ परेका विप्लबका कार्यकर्ताको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ।

स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस