छाडा चौपायाका कारण जनकपुरधाम अस्तब्यस्त

नवीन सिंह/जनकपुर :- प्रदेश २ को राजधानी जनकपुरधाम छाडा चौपायाको कारण अव्यवस्थित बन्दै गएको छ ।

स्थानीयको लापरबाही तथा सरोकारवाला निकायको बेवास्ताका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

पवित्र भूमि जनकपुरधाममा पशु चौपायलाई अलपत्र छाड्दा सडकमा गुड्ने सवारी साधनलाई निकै समस्या भएको छ ।

सरोकाकारवाला निकायको उदासीनताका कारण जनकपुरका सडकहरुमा छाडा चौपायहरु यत्रतत्र देखिन्छन् ।

पशु चौपाय नियन्त्रणका लागि उपमहानगरपालिकाले पटक–पटक योजनाहरु बनाएपनि त्यो अहिलेसम्म कागजमै सीमित छ ।

छाडा चौपायका कारण कुन बेला दुर्घटनामा परिने हो कुनै ठेगान नरहेको स्थानीय सवारी चालक हेमन्त कोइरालाको भनाइ छ ।

उपमहानगरपालिकाक्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोकलगायतका स्थानमा छाडा छोडिएका गाइगोरु भैंसी, घोडाजस्ता घरपालुवा जनावरले निर्वाध सवारी आवतजावतमा ठूलो बाध पु¥याएको देखिन्छ ।

पशुचौपाय सडकमा छाडिएको भन्दै विरोध  भएपछि उपमहानगरले कान्जी हाउस समेत बनाएको छ र पशुलाई छाडा छाड्नेलाई  पाँच हजार रुपैयाँको जरिवाना गराउने नियम पनि बनाएको छ ।

तर नियम पालना गराउन र चौपाय नियन्त्रणमा उपमहानगर नै उदासीन भएपछि पुरानै समस्या दोहोरिएको छ ।

पछिल्लो समयमा छाडा चौपाया गाईवस्तुको संख्यामा वृद्धि भएपछि ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको ट्राफिक प्रहरी निरीक्षक पशुराम घिमिरे बताउँछन् ।

जनकपुरमा छाडा चौयापाको व्यस्थापनमा तदारुकताका साथ नलागे सडक दुर्घटना बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस