काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् आज भाइटीका। देश तथा विदेशमा दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट दीर्घायू र सु-स्वास्थ्यको कामनासहित भाइटीका लगाइरहेका छन्।
बिहान ११ बजेर ५५ मिनेटको साइतमा भाइटीका लगाइएको हो। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व उत्साहका साथ मनाइन्छ। मंगलबार १० बजेर ५१ मिनेटमै पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्य लक्ष्मीको हातबाट टीका लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहितले पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत भन्दा केही ढिलो टीका लगाएका छन्। यो पटकको भाइटीकामा ठूलाबडा र सेलिब्रिटीहरुले पनि उत्साहका साथ टीका लगाएका छन्।
यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।