सीमा क्षेत्रमा तस्करी बढ्यो : तस्कर र प्रहरीबीच नै मिलेमतो

दीपक घिमिरे/भैरहवा :- रुपन्देहीका सीमा क्षेत्रमा चोरी तथा अवैध तस्करीका घटनाहरु  बढ्न थाले पनि प्रहरी सक्रियता बढ्न सकेको छैन ।

केही समय पहिले सीमा नाकामा तस्करीका घटना मत्थर भएको देखिए पनि पछिल्लो समय प्रहरीले चासो नदिँदा तस्करी मौलाउँदै गएको हो ।

पछिल्लो समय भारतबाट नेपालतर्फ मात्र नभई नेपालबाट पनि भारततर्फ तस्करी मौलाएको छ ।

रुपन्देहीका विभिन्न नाकाको प्रयोग गर्दै अहिले तस्कर र प्रहरीकै सेटिङ्गमा दोहोरो रुपमा तस्करी बढ्दै गएको स्थानियहरुको आरोप  छ ।

नेपालबाट अवैध रुपमा मटर, छोहरा, मरिच, दाललगायतका सामग्री भारततर्फ पुर्‍याउने गरिएको छ भने भारतबाट कपडा, हार्डयेयरका सामान, कुखुरा,चल्ला, खाद्यन्नलगायतका सामाग्री अवैध रुपमा ल्याइने गरिएको छ ।

सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटहरुलाई  मासिक नजराना “लाइन” बुझाएर काम गरिरहेको तस्करहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्री भने बाहिर गरिएजस्तो अवैध कारोबार नभएको र  प्रहरी तस्करी नियन्त्रणमा रहेको दावी गर्छन ।

समाचार संकलनको क्रममा सीमामा पुग्दा रोहिणी ३ लखनउतियामा रहेको न्यू सन्दिप सप्लायर्स नामको पसलबाट मटर अवैध रुपमा भारततर्फ लैजाँदै गरेको देखिएको थियो ।

यस बिषयमा न्यू सन्दिप सप्लायर्सका संचालक अनिल यादवले आफुले मटर बिक्री गरेको तर त्यो भारत अथवा नेपाल लैजाने आफ्नो सरोकारको बिषय नरहेको प्रतिक्रिया दिए ।

सीमामा रहेका यस्ता वैध रुपमा दर्ता भएका पसलहरुले अवैध कारोबार गर्दा पनि प्रहरी मुकदर्शक भएर बस्नुले पनि प्रहरी र यी कारोबारीहरुको संलग्नता पुष्टि गर्दछ ।

रुपन्देहीका सीमा नाका बुची बरवा, मदरी, अमवा, मैनिहवा, सेमरपानी, केवटलिया, पिपरहिया, कदमहवा, बगौली, ठर्कि, करौता, पिपरहवा, कालीदह लगायतका नाकाबाट तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस