तिहार नजिकिएसँगै सीमा क्षेत्रमा धमाधम पटाका बरामद

काठमाडौं ।  तिहार नजिकिएसँगै पटाका तथा विस्फोटक पदार्थमा प्रहरीले कडाई गर्न थालेको छ । प्रहरीले जनाएअनुसार मोरङ, धनपालथान गाउँपालिका—२ ठनठनियाबाट नागिन २५ प्याकेट, झिरझिरे १० प्याकेट, रकेट बम २ प्याकेट, आलु बम २ प्याकेट र चक्लेट बम १ प्याकेट पटाका आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छाडी फरार भएका थिए । त्यसपछि प्रहरीले ती सामग्री बरामद गरेको थियो । यस्तै, विराटनगर महानगरपालिका वडा नम्बर १५ र १६ का विभिन्न स्थानबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको नागिन, कोब्रा, चकलेट बम र फुलझरी पटाका आइतबार नै प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाइएको छ । यसैगरी सप्तरीको राजबिराज नगरपालिका —४ स्थित नेता चोकमा बेवारिशे अवस्थामा रहेको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका पटाका आइतबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको जनाइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएका अन्य जिल्लामा पनि पटाका भित्रिन नदिन सुरक्षा निकायले कडाई गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस