काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ कमला सुवेदीको शनिबार निधन भएको छ ।
पूर्व सभासद् समेत रहेकी सुवेदीको ५१ वर्षको उमेरमा भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा निधन भएको थियो । सुवेदी ब्रेनट्युमर रोगबाट पीडित थिइन् ।
सुवेदी २०४६ को जनआन्दोलनमा अनेरास्ववियुको माध्यमबाट राजनैतिक आन्दोलनमा होमिएकी थिइन् । नेतृ सुवेदी तत्कालिन नेकपा (एमाले) रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष, पार्टीको बाग्मती अञ्चल कमिटी सदस्य हँुदै केन्द्रिय कमिटीको सदस्यमा निर्वाचित भएकी थिइन् ।
२०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित भइ २०७२ को संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) प्रदेश नम्बर ३ संगठन कमिटीले विज्ञप्ति जारी गर्दै सुवेदीको निधनबाट स्तब्ध भएको जनाएको छ ।
‘उहाँको निधनमा राष्ट्रले एक अत्यन्तै राष्ट्रवादी, लोकप्रिय, निरन्तर क्रियाशील र एक कम्युनिष्ट योद्धा गुमाएको छ । हाम्रो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । हामी यस दुःखद घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।