छलफलका लागि विभिन्न एजेन्डाहरू तय गरिए पनि मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।
कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ ।
धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं. २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।
आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ ।
कांग्रेसका एक नेताका अनुसार, उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकबाट एक उपसमिति बनाउने सम्भावना छ ।
त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन ।
अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् ।
तरुण दलभित्र एकले अर्कोलाई कारबाही गर्नेजस्ता गतिविधि पछिल्ला समय देखिएका छन् । आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।