नेकपाका जिल्ला सचिवालय सदस्य श्रेष्ठ रिहा

दाङ :-  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ रिहा हुनु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले गरेको आन्दोलनको विषयलाई लिएर प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले दिएको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरेको थियो ।

रिहा भए लगत्तै श्रेष्ठले पत्रकार सम्मेलन गरेर राजनीतिक द्वेष साधेर आफू माथि झुट्टा मुद्दा लगाएको जानकारी दिनुभएको छ । आरोपलाई प्रमाणित हुने कुनै पनि आधार नभएपछि प्रहरीले रिहा गरेको उहाँको भनाई छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिले सिद्धाउन थालेको अवस्थामा दङालीको सम्पत्तीका रुपमा रहेको अस्पताललाई सिद्धाउन नदिने अभियानमा आफू लागेको अवस्थामा षड्यन्त्र गरेर झुट्ठा मुद्दा लगाएको भन्ने प्रमाणीत भइसकेको उहाँले बताउनुभयो । शुल्क वृद्धि भएको विषयमा पत्रकार सुदिप गौतम, स्वास्थ्यकर्मी मदन वली र आफूले उच्च अदालतमा मुद्दा दायर गरेको र प्रतिष्ठान बचाउ अभियानको अगुवा भएकाले आफूलाई फसाउन खोजेको भएपनि असफल भएको बताउनुभयो ।

जिल्लाको एक दुई वटा अनलाइनहरुले सत्य नबुझेर आफूलाई फरार रहेको, पक्राउ परेको भनेर बदनाम गरिएको भन्दै उहाँले आफू बिरुद्ध परेको उजुरीको बारेमा थाहा नभएको र थाहा पाएपछि आफै प्रहरीको सम्पर्कमा गएको प्रतिक्रिया दिनुभयो ।

साथै दाङ र यस आसपासका जनताको स्वास्थ्यसँग सम्बन्ध राख्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि भोलिका दिनहरुमा झनै सशक्त रुपमा लाग्ने बताउनुभयो । कसैले कमाई खाने भाँडो र राजनीति गर्ने थलोका रुपमा परिणत हुन नदिने, आफ्नो मान्छेलाई जागिर खुवाउने थलोका रुपमा मात्र सीमित राख्न नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस