प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ : मोहन वैद्य

नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने बताएका छन् । ‘अहिलेको सरकार बद्नाम अवस्थामा छ’ उनले भने, ‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’

नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भने–‘आफ्नो पार्टीले उपनिर्वाचनको समयमा विरोधका कार्यक्रम गर्ने समेत बताए । वैद्यले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप लगाए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले विप्लव समूहको आन्दोलन गर्ने तरिका सही नभएको बताए । ‘विप्लव जीले गर्ने काम गर्नुभएको छैन’– उनले भने, ‘रहस्यमय कार्यदिशा बनाएर युद्धमा गएर केही काम छैन ।’ विप्लवले एकीकृत जनक्रान्ति शब्द राम्रो राखेपनि शब्द अनुसारको संघर्ष नभएको उनले टिप्पणी गरे ।

नेता वैद्यले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको समेत चर्को आलोचना गरेका छन् । तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ ।

वैद्यले भने–‘ प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए।’ १० वर्षे सशस्त्र जनयुद्धको बेला एउटै धारमा उभिएर जनयुद्ध सफल पारेका तपाईँहरु अहिले किन फरक फरक ठाउँमा हुनुभएको ? भन्ने प्रश्नमा वैद्यको यस्तो जवाफ थियो। वैद्यले निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना काम अगाडि बढाउन नसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस