आलम प्रकरण :पीडितलाई मुद्दा फिर्ता लिन ‘प्रलोभन’

 

काठमाडौं :- मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ। ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसीबाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर ।’

आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ । ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन् । मैले यो कुरा प्रहरीलाई भनेको छु ।’

उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असइको कमान्डमा टोली खटाएको छ। प्रहरीले चौबीसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ । ‘मेरो एक मात्र अनुरोध छ, यस्तो जघन्य अपराध गर्नेलाई छोड्नु हुँदैन’, उनले भने, ‘कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

यमुनामाई–४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते) लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ। प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस