काठमाडौं :- सरकार संचालनको महत्वपुर्ण जिम्मेवारी पाएको नेकपाले आफ्नो पार्टीका कमिटिहरुको बैठक संचालन भने नियमित गर्न सकेको छैन । नेकपा गठन भएको १७ महिनासम्म पनि केन्द्रीय कमिटिको बैठक बस्नै सकेको छैन भने स्थायी कमिटी बैठक बस्न नसकेको करिव १ बर्ष हुन थालेको छ ।
पार्टीका महत्वपुर्ण कामहरु सचिवालय बैठकबाट गर्दै आएको नेकपाको पछिल्लो समय सचिवालय बैठक समेत बस्ने नबस्ने अन्यौलता बढेको छ।
कुनै पनि पार्टीलाइ प्रभाबकारी रुपबाट संचालन गर्नका लागी उक्त पार्टीका बिभिन्न कमिटिहरुको नियमित बैठक बस्नुपर्ने हुन्छ । तर सरकारको नेतृत्व गरेको नेकपामा भने सचिवालय बैठक बाहेक हालसम्म केन्द्रीय कमिटिको बैठक बस्न सकेको छैन ।
गत बर्ष मंसिर २९ गते संचालन भएर पुसको दोश्रो साता अन्त्य भएको स्थायी कमिटि बैठक बस्न सकेको छैन । स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बस्न नसक्दा पार्टीका महत्वपुर्ण कामहरु सचिवालय बैठकले गर्दै आएको छ ।
तर गत असोज २९ गते बसेको सचिवालय बैठकको पनि अर्को बैठकका लागी मिति तय गर्न सकेको छैन । यसरी पार्टीका स्थायी कमिटि, केन्द्रिय कमिटका बैठकहरु बस्न नसक्दा जनतामा भ्रम पर्न गएको र कार्यकर्ताहरुमा पनि निराशा बढ्दै गएको छ । तर कुनै पनि बाहानामा बैठकको मिति सार्नु नहुने नेकपाका नेताहरुको भनाइ छ ।
करिव ८ लाख नेता कार्यकर्ता रहेको नेकपामा ९ सचिवालय सदस्य, ४५ स्थायी कमिटि सदस्य र ४४५ केन्द्रीय कमिटि संख्या रहेको छ । तर पार्टी संचालनमा महत्वपुर्ण भुमिका राख्ने स्थायी कमिटि बैठक करिव १ बर्षदेखी बस्न सकेको छैन ।
गत असोज २९ गते बसेको सचिवालय बैठकले स्थायी कमिटिको बैठकको मिति तय गर्ने भने पनि मिति तय गर्न सकेन । सभामुखकै बिषयमा पनि नेकपा भित्र दुइ धार देखीएको छ । रिक्त सभामुख पदमा कसलाई ल्याउने भन्ने निर्णय गर्न नेकपाका शिर्ष नेताहरुलाई अहिले गाह्रो परेको छ ।
हालसम्म केन्द्रीय अनुशासन आयोग, जेष्ठ नागरिक मंच, प्रवास कमिटि गठन लगाएतका पार्टी एकताका बाँकि कामहरु समेत शीर्ष नेतृत्वले गर्न सकेको छैन । बरु बैठक बस्ने मिति मै आलटाल गरेको देखीन्छ ।
तर पार्टीका जिम्मेवार नेताहरु भने पार्टी भित्र जिम्मेवारी बाँडफाँड लगाएतका समस्याहरु रहे पार्टी भित्र कमिटि प्रणालीमा बैठक बसि समाधान खोजिनुपर्ने सुझाब दिन्छन्।
चुनाब जित्नका लागी गठबन्धन गरेका तत्कालीन एमाले र माओबादीका नेताहरुले कुनै ठोस योजना र उद्देश्य बिना पार्टी एकता गरी नेकपा गठन गरेको हुँदा यस किसिमको समस्या रहेको राजनीतिक बिश्लेषकहरुको युग पाठक बताउँछन् ।
दुइ ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भएको यति लामो समय भइ सकेको छ । तर सचिवालयका ९ सदस्यहरुले मात्र पार्टीलाई संचालन गरेको आफुहरुको बैठक बोलाउन ध्यान नदिएको भनेर स्थायी कमिटि, केन्द्रीय कमिटि सदस्यहरु गुनासो गर्दै आएका छन् ।