विकासको गति तिव्र बनाउनको लागि प्रविधिको विकास बिना असम्भव छ : उपराष्ट्रपति पुन

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार काठमाडौमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्ने बताए ।

विकासको गति तिव्र बनाउनको लागि प्रविधिको विकास बिना असम्भव हुने उनको भनाई थियो । विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल पछाडि परेको भन्दै युवाहरुलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए ।

नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिकीकरण, आधुनकिकरण गर्नु पर्ने भन्दै खोज र अनुसन्धानमा युवाहरुलाई अभिप्रेरीत गर्नु पर्ने उनको भनाई थियो ।

उपराष्ट्रपति पुनले सरकारले युवाहरुलाई प्रविधिमैत्री बनाउनकालागि आवश्यक बजेटको व्यवस्था गर्न पनि आग्रह गरे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नेपाललाई विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

उनले युवाहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा अकर्षित गरी दक्ष जनशक्ति उत्पादन गर्न राज्यले पहल गर्ने पनि बताए ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पछिल्लो समयमा विज्ञान र प्रविधिको विकासका लागि सरकारले काम गरी रहेको बताए ।

अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्रविधिको ज्ञान लिनु पर्ने भन्दै उनले नेपालका युवाहरुलाई प्रविधितर्फ आकर्षित गर्ने सरकारको लक्ष्य रहेको बताए । सम्मेलन ३ दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस