चिलीको राजधानी सान्टियागोमा लुटेराहरुले एउटा कपडा उद्योगमा आगजनी गराउँदा पाँच जनाको मृत्यु भएको छ । केही दिन यता त्यहाँ मेट्रोको भाडा बृद्धिको विरोधमा प्रदर्शन हुँदै आएको थियो । सेना र प्रहरीले त्यहाँ अश्रु ग्याँस र पानीको फोहरा प्रदर्शनकारीमाथि प्रयोग गर्नुका साथै राति कर्फयु लगाएको थियो ।
मेट्रोको भाडा बृद्धिलाई लिएर त्यहाँ आन्दोलन शुरु भएकोमा सरकारले भाडा बढाउने निर्णय फिर्ता गरेपनि आन्दोलन रोकिएको छैन । राष्ट्रपति सेबास्टियन पिनेराले लोकतन्त्रमा कानुनी राज्यको पनि उत्तिकै महत्पूर्ण भूमिका हुने जनाएका थिए ।
उनले गएको शुक्रबार देशका पाँच राज्यमा आपतकाल घोषणा गरेकोमा आन्दोलन अझै फैलदो रहेको छ । सन् १९९० पछि पहिलो पटक सडकमा ठूलो परिमाणमा ट्यांकहरु तैनाथ गरिएका छन् । त्यतिबेला चिलीका तानाशाह अगस्टो पिनोचेटको तानाशाहीतन्त्र हटाएर लोकतन्त्र स्थापना भएको हो । आइतबार चिलीमा लुटपाट हुनुका साथै बसहरुमा आगजनी गरिएको छ । राजधानी सान्टियागोमा पसल, बस बन्द हुनुका साथै अन्तर्रा्ष्ट्रिय उडान समेत रद्ध गरिएको छ । करिब १हजार ४०० मानिस देशभरीबाट गिरफतार गरिएको छ । प्रहरीसँगको झडममा दुई जनालाई गोली लागेको छ ।
सरकारले मेट्रोको भाडा बृद्धि गरेकोमा आन्दोलन भएपछि शनिबार फिर्ता लिए पनि आन्दोलन नरोकिएको हो । (बीबीसी)