अलीको प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने गरी नियोजित दुष्प्रचार गरियो: डा.अर्याल।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयले प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा मुछेर व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विज्ञप्ति जारी अलीको व्यक्तिको चरित्रहत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने गरी नियोजित दुष्प्रचार गरिएको भन्दै खेद व्यक्त गरेको हो । अन्तर्राष्ट्रिय अपराधीको समूह नेपालमा आएको र उनीहरूलाई प्रहरीले पक्राउ गरेको तर प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै काल्पनिक कथा खडा गरी भ्रम सिर्जना गर्ने काम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘अली जेठ ७ गते मङ्गबार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित कुरा दाबी समाचारमा गरिएको छ । उक्त कुरा त्यहाँको सिसी टिभीमा कैद भएको अत्यन्तै झुटो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ ।’’ ,उल्लिखित विषयमा प्रहरी परिसर टेकूका डिएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको बताउँदै अर्यालले विज्ञप्तिमा यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्ने गरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न चुनौति दिएका छन् । अन्तर्राष्ट्रिय अपराधी छुटाउन लागेको झुटो सूचना प्रसार गरी व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरूको आचारसंहितानुरूप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयाससमेत नगरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘अलीले अभियुक्तलाई भेटेको हो होइन भन्ने विषयमा प्रहरी परिसरमा मुद्दा हेर्ने डिएसपी सन्तोष तामाङको आधिकारिक भनाइ पनि कथित समाचारमा उद्धृत गरिएको छैन, धार्मिक आपराधिक समूहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुटो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुन सक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लङ्घन हो ।

प्रतिक्रिया दिनुहोस