तिहार अघि तुल्सिपुरबजार झिलिमिलि हुदै

कमल पोखरेल / दाङ :-  तुलसीपुर उपमहानगरपालिकाले तिहार अघि नै तुलसीपुर बजार क्षेत्रलाई झिलीमिली बनाउने गरी काम अगाडि बढाएको जनाएकाे छ ।
उज्यालो तुलसीपुर अभियान अन्तर्गत बजार क्षेत्रभित्र तिहार अघि नै सबै पोलमा बत्ति जडान गर्ने प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले बत्ति नभएको ठाउँमा नयाँ बत्ति जडान गर्नुका साथै पुराना सोलार बत्तिहरुको मर्मत प्रक्रिया अगाडि बढेको बताए ।

उपमहानगरपालिकाले उत्तरमा रक्षाचौर, दक्षिणमा सितलपुर, पूर्वमा मज्गै र पश्चिममा भमकेसम्म सडक बत्ति जडानलाई अगाडि बढाएको कार्यपालिका सदस्य दिपक कुमालले जानकारी दिए । उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै ठेक्का मार्फत जडान गरिएका सोलार बत्ति बिग्रिएका कारण बजार क्षेत्र अन्धकार रहेको थियो । सोलार बत्तिको ग्यारेन्टी हुँदा पनि ठेकेदारले आनाकानी गरेका कारण मर्मत हुन सकेको थिएन ।
पहिलो चरणमा सडक बत्ति जोड्ने काम अगाडि बढिसकेको खरिद शाखा प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार बजार क्षेत्रमा बुधबारसम्म २५ वटा नयाँ सडक बत्ति जडान भइसकेका छन् । सबै क्षेत्रमा जडानका लागि काम अगाडि बढेको पनि उनले जानकारी दिए ।

यसैगरी विभिन्न ८ वटा टोलमा जोडएका ७८ वटा सडक बत्तिहरु अहिले नबल्ने अवस्थामा रहेका छन् । एभरेष्ट सोलार इनर्जी प्रालीले प्रति पोल ८९ हजारमा जडानको ठेक्का पाएकाे भएपनि कमसल सामग्रीको प्रयोगले एक वर्ष नपुग्दै बिग्रिएका थिए ।

ठेक्का पाएको कम्पनीले लामो समयसम्म पनि आनाकानी गरेपछि नगरप्रमुख पाण्डेले तत्काल मर्मत नगरे कानुनी प्रक्रिया अगाडि बढाउने भएपछि काम अगाडी बढाएको थियो । ठेकेदार रोशन पुनले बिग्रिएका सामग्रीहरु आइसकेको र बिहीबारदेखि नै मर्मतको काम अगाडि बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस