काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन्। उपराष्ट्रपति पुनसहितको नेपाली प्रतिनिधिमण्डल कतार एयरवेजको विमानमार्फत आज बिहान ९ः२० मा दोहा हुँदै अष्ट्रिया जाने कार्यक्रम छ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत छन्।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा सोतर्फ जान लागेका हुन्। भ्रमणका क्रममा उनले भियनामा जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा सहभागी उपराष्ट्रपति पुनले नेपालको तर्फबाट आधिकारिक धारणा राख्नेछन्।
आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो। यो कार्बनडाइअक्साइड उत्सर्जन गर्न बढी जिम्मेवार औद्योगिक देशहरुको समूह पनि हो। संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस सम्झौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन आयोजना हुँदै आएको छ।
सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुने क्रममा यस वर्ष नेपालका तर्फबाट उपराष्ट्रपति पुन सहभागी हुँदैछन्।
भ्रमणको क्रममा उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनेछन्। सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा चिनिन्छ।
अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले त्यहाँस्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन्। उनले अष्ट्रियामा रहेका नेपाली समुदायसँग अन्तरक्रियासमेत गर्ने बताइएको छ।
उपराष्ट्रपति पुन जेठ १८ गते स्वदेश फर्कने छन्।