सांसद प्रमोदकुमार साह प्रकरण: जनकपुरमा प्रमुख सचेतकदेखि उपमेयर धर्नामा

काठमाडौँ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ ।

प्रदेश नम्बर २ को सत्ता सहयात्री दल राजपा नेपालले साहको रिहाइको माग गर्दै वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालयअगाडि टायर बालेर एक घन्टा प्रदर्शन गरेको हो ।

बुधवार राजपा नेपालको अगुवाईमा करिब एक सयको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको छ ।

यता, जनकपुरमा बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने राजपा नेपालको प्रयास भने असफल भएको छ ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की र आन्दोलनकारीबीच सहमतीपछि बुद्ध एयरको मुलगेट अगाडिसम्म जान दिएपनि तालाबन्दी गर्न भने दिइएन ।

राजापा नेपाल प्रदेश नम्बर–२ का संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगर पालिकाका उपमेयर रिता झा, पूर्व सांसद दिनेश साह लगायतकाहरु तालाबन्दी गर्न बुद्ध एयरको टिकट बिक्री कक्ष कार्यालयको मूल गेटमा बसेर अहिले धर्ना दिइरहेका छन् ।

यसअघि, राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको थियो ।

राजपा नेपाल धनुषाले  करिब एक सयको संख्यामा जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस