अाफताब प्रकरण: कांग्रेसले कानुन र अदालतलाई ‘डिस्टर्ब’ नगर्ने र दवाब सिर्जना नगर्ने

काठमाडौं । सांसद् पदमा रहेका मोहम्मद आफताब आलमको गिरफ्तारीमा नेपाली कांग्रेसले शानदार बाटो समातेको छ । कांग्रेसले कानुन र अदालतलाई ‘डिस्टर्ब’ नगर्ने र दवाब सिर्जना नगर्ने नीति लिएको छ ।

पहिलो संविधानसभा चुनावका बेला रौतहटमा दुईजनाको हत्या गरेको अभियोगमा आफताबलाई पक्राउ गरिएको हो । आफताबलाई सांसद् पदबाट निलम्बन गरिसकिएको छ।

आफताबको गिरफ्तारी लगत्तै रौतहटमा कांग्रेसका केही कार्यकर्ताले पार्टीको झण्डा सहित विरोध प्रदर्शन गरेका थिए ।

उता रौतहटमा चारतारे झण्डासहित रौतहटमा प्रदर्शन गरियो तर यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘निर्दाेष कहिल्यै पनि दण्डित हुनुहुन्न दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न’ भन्दै टुइटरमा लेखे । उनले रौतहटमा मंगलबार जुलुस प्रदर्शन नहुने दावीसाथ यस्तो पनि लेखे– ‘अफताब पक्राउ प्रकरणमा पनि सत्य यही हो । कांग्रेसको यो केन्द्रीय धारणा रौतहट कांग्रेसले मंगलबारबाट अनिवार्य बोक्नेछ ।’

सोमबार राति प्रवक्ता शर्माले मंगलबार त्यस्तो केही नहुने आशय साथ लेख्नुको कारण थियो– मंगलबार आफताबलाई अदालतमा प्रस्तुत गरिँदै थियो । उनलाई अदालत लाँदा र लैजाँदा जुलुस प्रदर्शन गर्ने भनिएको थियो । तर, सोमबार राति नै प्रवक्ता शर्माले त्यस्तो विचार सार्वजनिक गरे ।

नभन्दै मंगलबार आफताबलाई अदालत लैजाँदा र ल्याउँदा त्यस्तो केही भएन । रौतहट कांग्रेसले पनि प्रवक्ताको विचार अनुसार नै मंगलबार विज्ञप्ति जारी गरेर विरोधका कार्यक्रम नगरिने भन्यो । कांग्रेस केन्द्रको निर्देशन रौतहट कांग्रेसले पूर्ण पालना गरेको छ ।

कांग्रेस स्रोत अनुसार आफताब प्रकरणमा मौन बस्ने र कानुनी तथा अदालती प्रकृयालाई सघाउने पक्षमा कांग्रेस रहेको छ । कांग्रेसका एक नेताले सनराइज खबरलाई भने– ‘हामी कानुनी बाटो र अदालती प्रक्रिया निष्पक्ष र तटस्थ भएको हेर्न चाहन्छौं । हामी मुख होइन कानुन हेर्छाैं ।’

प्रतिक्रिया दिनुहोस