सोनिका भन्छिन् : पारस सरकार र म मिल्ने साथी हौं

काठमाडौं । विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लोपटक भाइरल बनेको एउटा टिकटक भिडियोले उनीहरुको सम्वन्धमाथि थप कौतुहल जन्माएको छ ।

परिवारबाटसमेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका थिए ।

युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले पारसलाई पृष्ठभूमिमा देखाएर टिकटक भिडियो बनाउने गरेकी छन् । पारससँग निकटता झल्किने केही तस्वीर पनि उनले बाहिर ल्याएकी छन् । अहिले सार्वजनिक भएको भिडियो चाहिँ अरु कसैले खिचेका हुन् । यसमा पारसले आफ्नो मोटरसाइकलमा सोनिकालाई राखेर कुदेको देखिन्छ ।

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् । कतिपयले पूर्वयुवराजको घर बिगारेको भन्दै सोनिकालाई गाली गरेका छन् भने कतिले हिमानी जस्ती श्रीमती हुँदाहुँदै अन्य युवतीसँग हिमचिम गरेको भनेर पारसलाई गाली गरेका छन् ।

पोखरामा खिचिएको भाईरल भिडियो र पारससँगको सम्बन्धबारे पोखरामै रहेकी सोनिकासँग नेपालयनखबरले    टेलिफोनमा कुराकानी गरेको छ ।

प्रस्तुत छ, कुराकानीको प्रमुख अंशः-

पूर्वयुवराज पारस शाह र तपाईबीच निकटता बढिरहेको समाचारहरु आइरहेका छन् । खास कुरा के हो ?

मलाई नसोधी भिडियोलाई आधार बनाएर समाचार छापिएका छन् । हामी दुवैको नकारात्मक विगतका कारण अनेकथरी आशंकाहरु गरिएको हुन सक्छ । तर, त्यस्तो केही होइन । हामी राम्रो साथी मात्र हौं । उहाँ देशभक्त र एकान्त मन पराउने मान्छे हुनुहुन्छ । मिडियामा आएका समाचारप्रति मेरो र पारस सरकारको चित्त दुखाई छ ।

त्यो भाइरल भिडियो चाहिँ कुन सन्दर्भको हो ?

त्यो भिडियो चार दिन अगाडिको हो । म पोखरामा थिएँ । पारस सरकार र म मिल्ने साथी हौं । उहाँले भेटौं भने पछि एउटा क्याफेमा म गएको थिएँ । क्याफेको नाम मलाई याद भएन । भेटघाट र खाजा खाईसके पछि म निस्कन खोजेँ । पारस सरकारले ‘मेरो बाईकमा बस, म पुर्‍याई दिन्छु’ भनेपछि म क्याफेमा बिल तिर्न थालेँ । उहाँले बाईक स्टार्ट गर्नुभयो । म उहाँको मोटरसाईकलमा चढेर आफ्नो बाटो लागें । भएको यत्ति हो ।

त्यहीबेला उहाँका शुभचिन्तकले भिडियो खिचेका रहेछन् । त्यही भिडियो अहिले भाईरल बनाइएको रहेछ ।

तर योभन्दा अगाडि पनि घरको बार्दलीमा, क्लवमा तपाईंहरु अंगालोमा बेरिएका फोटो/भिडियो सार्वजनिक भएका छन् । तपाईहरु बीचको सम्बन्ध कस्तो हो ?

म अलिकति हावा टाईपको मान्छे छु । उहाँ बार्दलीमा रहेको भिडियोबारे भन्नु पर्दा पारस सरकारलाई एक्कासी देखेपछि मैले मेरो टिकटकको ड्राफ्टमा भएको गीतमा भिडियो बनाएको हुँ । त्यो पोखराकै हो, तर कुनै कोठाको सिन हुँदै होईन । मैले पारस सरकारसँग बेडरुममा भेटेको छैन/होईन ।

हामी मिल्ने साथी हौं । हो म उहाँसंग नजिक छु । हामी भेट गरिरहन्छौं, तर कोही मान्छेसँग भेट्दैमा, कुरा गर्दैमा त्यसलाई शंकाको नजरले हेर्नु गलत हो ।

जहाँसम्म पारस सरकारले मलाई अंगालोमा हालेको फोटोको कुरा छ । त्यो फोटो दरबारमार्गको एक लाउन्जमा अलि पहिले खिचिएको हो । मेरो निमन्त्रणमा उहाँ आफ्नो परिवारका सदस्यसहित त्याहाँ आउनु भएको थियो । साथी–साथीको रुपमा त्यो फोटो खिचिएको हो ।

तपाईं आफैलाई नकारात्मक छबि भएको बताउनु हुन्छ । तपाईकै भनाईमा नकारात्मक विगत भएको पुरुषसँग कसरी नजिकिनुभयो ?

म नेपाली हुँ । त्यसैले ममा नेपाली संस्कार हुनुपर्छ । तर मेरो आत्मा भड्किरहेको थियो । लाज, इज्जत नभएको, आफ्नै दुनियाँमा रमाउने, संस्कार नभएको, बुबा–आमाको कुरा नमान्ने अवस्थामा म पुगेको थिएँ ।

नढाटी भन्छु मेरो आत्मा भड्कीएको थियो, म छाडा भएकी थिएँ । समाजले मलाई …. भन्थे । तर मलाई आफू के गरिरहेको छु भन्ने हेक्का नै थिएन ।

सायद भाग्यले होला मेरो पारस शाह सरकारसंग भेट भयौं । उहाँ मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ । तिमी जस्तो युवा बिग्रनु हुन्न भनेर उहाँ मलाई ढाडस दिई रहनु भएको छ । हाम्रो भेट भगवानले जुराएको जस्तो लाग्छ ।

कहिलेदेखी हामी नजिक भयौं याद छैन, तर तीन महिना भन्दा धेरै भएको छैन ।

मेरा राम्रा कुरालाई पत्रकारले स्थान नै दिएनन् । मैले कपिल शर्मालाई नेपाली गित गाउन लगाएँ । मलाई कुनै पत्रकारले सोधेनन् कि कसरी त्यो सम्भव भयो भनेर । तर आज म पनि नकारात्मक विगत भएको मान्छे । पारस शाह पनि विवादित मान्छे, हाम्रो विगतको नकारात्मकतालाई मसला बनाएर हामीलाई थप पीडित बनाउने काम भयो । पारस शाह किन बिग्रिए भनेर मैले खोज्न थाले, उहाँ पनि म जस्तो युवा किन बिग्रियो ? भनेर खोज्न थाल्दा मिलनबिन्दु भेटियो । म शिक्षीत केटी हुँ तर अहिले उहाँबाट दीक्षा पाईराखेको छु ।

बिस्तारै बन्न लागेको पारस शाहको घर भाँड्न फेरि सोनीका लागि भनेर गरिएको चर्चालाई के भन्नु हुन्छ ?

मैले अघि नै भने म जस्तो बिग्रीएको मान्छेलाई पारस सरकार सुधार्दै हुनुहुन्छ । उहाँमा देशभक्ति र युवाप्रति माया छ । तर उहाँबारे कसैले जान्न र बुझ्न प्रयास नै गरेन ।

उहाँलाई वर्षौं देखि पागल जस्तो सोचिएको छ । सबैले पागल र बिग्रिएको भन्दाभन्दै पागल भएका र बनाइएका मान्छे हौं हामी । हामी दुईले सुध्रिन गरेको प्रयासलाई यहाँ अनर्थ लगाइयो । हाम्रो मित्रताले उहाँको घर बिग्रन्न तर मिडियाको गलत बुझाई र समाचार सम्प्रेषणले पारस सरकार र उहाँको परिवारमा गहिरो चोट पुगेको छ । म तपाईसँग नढाँटि भन्छु आफूलाई नबुझि मिडिया र समाजले लखेटेको भन्दै पारस सरकार मसँग डाँको छोडेर धेरै पटक रुनु भएको छ । हामीसंग सत्य नबुझी अर्काको परिवार भांडिने काम कसैले पनि गर्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस