चिनियां मिडियामा प्रचण्डलाई सी जिनपिङले राजनेता भनेको समाचार प्राथमिकतामा

सिन्ह्वा – चिनियां राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजनेता भनेको समाचार प्रकाशित भएको छ । चिनियां सरकारी समाचार संस्था सिन्ह्वाले प्रचण्डसंगको भेटमा उनको खुलेर प्रशंसा गरेको उल्लेख गरेको छ । दुवै नेताको बीचमा अन्तर पार्टी संवाद समेत बलियो बनाउने सहमती भएको छ ।

सिन्ह्वाका अनुसार भेटमा सीले प्रचण्डको उच्च प्रशंसा गर्दै भने, ‘तपाईं नेपालका वरिष्ठ राजनेता हुनुहुन्छ । चिनियां जनताको असल र पुरानो मित्र हुनुहुन्छ ।’

उक्त समाचारमा सीले प्रचण्डलाई प्रधानमन्त्री केपी ओली र तपाई मिलेर नेकपा स्थापना गर्ने निर्णय गरेको र त्यसले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको लागि नयां ढोका खोलेको उल्लेख गरेको छ ।

सिन्ह्वाको समाचारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र चिनिया कम्युनिस्ट पार्टी दुवै माक्र्सवादबाट निर्देशित भएकाले चिनियां कम्युनिस्ट पार्टी नेकपासंग अन्तरपार्टी आदानप्रदान बलियो बनाउन इच्छुक रहेको कुरा पनि सीले राखेको उल्लेख छ ।

भेटमा प्रचण्डले नेपाल बीआरआईमा सक्रिय रुपमा सहभागी हुन र सहकार्य वृद्धि गराउन तयार रहेको धारणा राखेका थिए ।

भेटमा सीले नेपालले चीनका प्रमुख चासोका मुद्दाप्रति लामो समयदेखि देखाएको बलियो समर्थनलाई चिनियां पक्षले सराहना गरेको पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस