काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले उक्त प्रकरणमा अनुसन्धान जारी रहेको बताए । ‘पीडितबाट दर्ता भएको किटानी जाहेरीअनुसार अनुसन्धान जारी छ, दुवै पक्षको स्वास्थ्य परीक्षण भइसकेको छ,’ उनले भने, ‘अदालत खुलेपछि आरोप लागेका व्यक्तिलाई उपस्थित गराउने तयारी छ ।’ तथ्य र प्रमाणका आधारमा आफूहरूले त्रुटिरहित अनुसन्धान गरिरहेको बताउँदै उनले अनुसन्धानमा भइरहेका प्रगतिबारे नसोध्न आग्रह गरे ।
गत असोज १२ गते राति रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको भन्दै पीडितको भनाइसहितको भिडियो समाचार असोज १४ गते हाम्रा कुरा डटकमले सार्वजनिक गरेको थियो । सोही साँझ सभामुख महराको सचिवालयले समाचारको खण्डन गर्दै घटनामा महराको संलग्नता नभएको विज्ञप्ति जारी गरेको थियो तर भोलिपल्ट दिउँसो महराले पदबाट राजीनामा दिए ।
राजीनामा दिएकै दिन रोशनीले महराबाट आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको ‘भिडियो अन्तर्वार्ता’ नागरिक खबर डटकम अनलाइनलाई दिएकी थिइन् । त्यसको २ दिनपछि असोज १७ गते दुर्व्यवहारसम्बन्धी स्वास्थ्य परीक्षण गराउनुका साथै १८ गते महराबाटै बलात्कार प्रयास भएको किटानी जाहेरी बानेश्वर प्रहरीमा दिएकी थिइन् । त्यसपछि उक्त प्रकरणले अर्कै मोड लिएको हो । यौन दुर्व्यवहार र बलात्कार प्रयास प्रकरणको अनुसन्धान सुरुमा बानेश्वर प्रहरीले गरे पनि अहिले यो मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंले हेरिरहेको छ ।