काङ्ग्रेस सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले गरे प्रदर्शन

रौतहट :-   नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेपछि त्यहाँका कार्यकर्ता तथा समर्थकले गौरबजारमा प्रदर्शन गरेका छन्।

आलम पक्राउको विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ।

प्रदर्शनकारीले केही स्थानमा ढुंगामुडासमेत गरेका छन्।

आलम समर्थक कार्यकर्ताबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ।

उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए।

सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सेतोपाटीलाई जानकारी दिए।

आलमलाई हिरासतमा लिई अनुसन्धान थालिएको एसपी खत्रीले बताए। आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार सरकारी वकिलको कार्यालयसँग परामर्श गरी अदालतसँग हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिने खत्रीले बताए।

आलम रौतहट -२ बाट प्रतिनिधि सभा सदस्य छन्।

 

प्रतिक्रिया दिनुहोस