काठमाडौं । बलात्कार आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भर्खरै सभामुखको सरकारी निवास बालुवाटरबाट पक्राउ गरेको हो ।
१७ असोजमा आफूलाई बलात्कारको प्रयास गरेको भन्दै संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।
आज दिउँसो मात्रै काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
आफूलाई पक्राउ गर्न आएको प्रहरी टोली समक्ष महराले प्रहरीको गाडी नचढ्ने र निजी गाडी चढेर जाने अडान राखेका थिए ।
महराको यो अडानपछि महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी बा १६ च २९५८ नम्बरको निजी स्कर्पियो जीप लिएर सभामुख निवासमा पसेका थिए ।
महराले १२ असोज साँझ आफूलाई बलात्कारको प्रयास र कुटपिटसमेत गरेको संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले बताएपछि सबैतिरबाट महरामाथि छानबिन र कारबाहीको आवाज उठेको थियो ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १४ असोजको आकस्मिक सचिवालय बैठकबाट सभामुख र सांसद् दुवै पदबाट राजीनामा दिन महरालाई निर्देशन दिएको थियो ।
लगत्तै, महराले सभामुखबाट राजीनामा दिए पनि सांसद् पद छाडेका छैनन् ।