काठमाडौं –निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमतिपछि प्रहरी टोली महरा बसिरहेको सभामुखको सरकारी निवास बालुवाटारमा पुगेको छ ।
प्रहरीले महरालाई नियन्त्रणमा लिने तयारी गरेपनि महराले आफैं प्रहरीको बानेश्वर वृत्तमा उपस्थित हुने इच्छा प्रकट गरेका छन्।
‘उहाँले पक्राउ पूर्जी बुझेर आफैं प्रहरीमा उपस्थित हुन्छु भन्नुभएको छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो । दुई पक्षबीच अझै छलफल चलिरहेको छ ।
स्रोतका अनुसार महरा प्रहरीको गाडीमा जान चाहेका छैनन् । उनी आफ्नै गाडीमा प्रहरी चौकी जान इच्छुक छन् ।
पक्राउ पूर्जी बुझेर आफैं उपस्थित भएपनि त्यो पक्राउसरह नै भएको प्रहरी स्रोतको दाबी छ ।
महरामाथि संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
ती महिलाले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।
उपसभामुखलाई दिनुपर्छ जानकारी
संविधानको धारा १०३ मा संसद्को विशेषाधिकारसम्बन्धी व्यवस्था छ, जसले ‘संसद्मा बोलेको कुनै पनि कुरा, दिएको मत आदिका आधारमा सांसदलाई पक्राउ गरी थुनामा राख्न वा अदालतमा कारवाही चलाउन पाइँदैन’ भन्छ ।
तर, धारा १०३ कै उपधारा (६) मा फौजदारी अभियोग लागेका सांसदलाई पक्राउ गर्न सकिने उल्लेख छ । पक्राउको सूचना भने सम्बन्धित सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने हुन्छ ।
उपधारा (६) मा भनिएको छ–‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन ।
तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानूनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।’
अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको अवस्था छ । महरा सदस्य रहेको प्रतिनिधि सभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरिरहेकी छन् ।
यसरी सदस्यलाई पक्राउ गरेको सूचना प्राप्त भएपछि संसद्को अध्यक्षता गर्ने व्यक्तिले सदनलाई गराउनुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।
सदन चालू नरहेको अवस्थामा भने सूचना पत्रमा सूचना प्रकाशन गरी जानकारी गराउनुपर्ने नियमावलीको नियम २२५ मा उल्लेख गरिएको छ ।