काठमाडौं :- यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ । सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ । नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।
“चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ ।” उनका अनुसार चीनका राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको छ ।
उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे भने थप छलफल चलिरहेको उनले जानकारी दिए । द्विपक्षीय सम्बन्धलाई मर्या्दित, प्रभावकारी र नेपालका लागि फलदायी बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मन्त्रालयका सम्बन्धित महाशाखा र पदाधिकारीलाई भ्रमण सफल बनाउन चनाखो रहेर काम गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
दुई देशको सम्बन्ध मात्र हैन, विश्वकै आँखा परेको चीनका राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीको जोड रहेको मन्त्रालयले जनाएको छ ।