महरालाई पक्राउ गर्ने तयारी ,गृहमन्त्रीले भने -अनुसन्धान गर्नुस्, डराउनु पर्दैन

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।

स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

ad

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

एक प्रहरी अधिकारीले भने, ‘‘आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ ।’’

आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन

महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।

सोही बैठकमा गृहमन्त्री थापाले महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए । बैठकमा सहभागी एक अधिकारीले भने, ‘‘गृहमन्त्रीज्यूले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । निष्पक्ष अनुसन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन भन्नुभएको छ ।’’ गृहमन्त्री थापाले आफ्नो भाइलाई प्रहरीले पक्राउ गर्दासमेत दबाब नदिएको भन्दै निर्धक्क भएर अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । बिहान बैठक भएको र दिउँसो रोशनी आफ्ना श्रीमान चित्रजंग शाहीसहित वृत्त नयाँ बानेश्वरमा पुगेको स्रोत बताउँछ ।

प्रहरी अधिकारीका अनुसार रोशनीले उजुरी दर्ता गराएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘आइतबार (भोलि) अदालतबाट पक्राउ पुर्जी लिने हाम्रो तयारी छ । पीडितको जाहेरी आइसकेकाले पक्राउ गरेरै अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’’

प्रतिक्रिया दिनुहोस