महरा प्रकरणले लियो नयाँ मोड, अमेरिकी र भारतीय स्वार्थ नमान्दा यसरी ‘फसाइए’ सभामुख महरा

काठमाडौं, सभामुख कृष्ण बहादुर महरामाथि ‘यौन दुव्र्यवहार’ को आरोप प्रकरणले नयाँ मोड लिएको छ ।

आरोप लगाउने महिला रोशनी शाहीले आफूले महराका बारेमा कुनै कुरा नगरेको दावी गरेकी छिन् ।योसँगै उनले महरामाथिको आरोप समायोजन हुने क्रममा आफू अन्यत्र सरुवा भएको र महरालाई अनुरोध गर्दा समेत सहयोग नगरेको रिसमा लगाएको समेत बताएकी छिन् ।

यता सभामुख महराले भने नैतिक प्रश्न उठेकोले अनुसन्धानलाई सहज गर्न राजिनामा दिएको घोषणा गरेका छन् ।

यो सम्पूर्ण प्रकरणले केही गम्भीर प्रश्न उब्जाएको टिप्पणी सर्वत्र देखिन्छ ।सबैभन्दा ठूलो प्रश्न ती महिलाकै आरोप वरिपरि घुमेको छ ।

सभामुख महराले विज्ञप्ती जारी गर्दै आइतबार राती ती महिलाको कोठामा जाँदै नगएको बताउनु तर शुरुमा प्रकाशित समाचारमा भने उनले राती कोठामा गएर कुटपीट र दुव्र्यवहार गरेको उल्लेख हुनुले घटनाबारे कैयन प्रश्न जन्मेका थिए ।

महराकै विज्ञप्तीलाई समर्थन गर्दै २४ घण्टापछि तिनै महिलाले महरा कोठामा आउँदै नआएको बताएकी छिन् । साथै उनले शुरु समाचार तयार पार्ने पत्रकारमाथि पनि प्रश्न गर्दै मेरो कोठामा उनीहरु कसरी पुगे ? कसले यहाँ पुर्यायो भनेर प्रश्न गरेकी छिन् ।

यो सबै प्रसंगले दुईवटा कुरा स्पष्ट देखाएको अनुमान गर्न सकिन्छ ।

पहिलो, महिलाको मनोविज्ञान एउट निरन्तरतामा छैन । उनी बेलाबखत अवसाद (डिप्रेसन)को अवस्थामा गइरहन्छिन् र औषधी खाएको बेला तरंगित बन्छिन् । त्यसैले उनले कतिपय आधारहीन र तथ्यहीन कुरा पनि गर्ने गर्छिन् । शुरुमा अन्तर्वार्ता लिन पत्रकार आएको बेला औषधीको हाई डोज खाएको उनले आफैले स्वीकार समेत गरेकी छिन् ।

अर्को कुरा, यो सबै प्रसंगका पछाडि एउटा खास नियत र स्वार्थले काम गरेको छ । पहिलो कुरा, महिलाले राती पठाएको भनिएको मेसेज नेकपा र नेपाली कांग्रेस समर्थक केही नेतालाई पठाएको बताइएको छ । तर नेकपाबाट यो विषयमा खासै चासो व्यक्त गरिएन । एउटा अनलाईनको समाचारको भर पर्ने हो भने नेपाली कांग्रेसकी सांसद उमा रेग्मी अधिकारीलाई पठाएको मेसेजबारे कांग्रेसका केही नेताबीच छलफल भएपछि कांग्रेसकै निकटको अनलाईनले ती महिला रोशनी शाहीलाई फलो गरेको देखिन्छ । अर्थात्, यी महिलामार्फत महरालाई पदबाट हटाउन सकिने सम्भावना देखेर नै समाचार तयार पारिन्छ । र, महिलाले औषधीको प्रभावमा रहेको बेला महराविरुद्ध तथानाम बोल्ने काम गर्छिन् । त्यसपछि उनको सम्पादित भिडियो आउँछ । भिडियोका कुरा संगतिमा देखिन्न ।

अमेरिकी स्वार्थ जोडिएको दावी

यो सन्दर्भमा महरा किन निशाना बनाइए त ? भन्ने प्रश्न समेत नेकपाका नेताहरुबीच निकै चर्चाको विषय बन्यो । शुरुमा समाचारमा उल्लेख भएका विषयका आधारमा कतिपयले महराले गल्ती गरेकै हो भन्ने निष्कर्श निकाले पनि । नेकपा समर्थकहरुका पोष्ट र सामाजिक सञ्जालका कुराकानी सञ्जालमा उनीहरुले क्षोभ र खेद प्रकट समेत गरे । तर मंगलबार बिहानदेखि भने केही कुराहरु नयाँरुपमा प्रकट भए । महराको अहिलेसम्मको छविसँग मेल नखाने घटनाका कैयन पक्षहरुबारे विचार विमर्श भयो । महरा स्वयम्ले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग घटनाबारे बताए । र, यो सँगै एउटा डरलाग्दो तथ्य सार्वजनिक भयो ।

त्यो थियो– महराले संसदमा खेलेको भूमिका नै उनका लागि प्रत्युपादक बन्यो ।

सभामुख महराले सदनमा खेलेका कतिपय भूमिकामा नेपाली कांग्रेसले बारम्बार आपत्ती जनाइरहेको थियो । सरकारले बजेट पारित गर्दा होस् कि कतिपय विधेयकहरु अघि बढाउँदा होस्, कार्यसूचिका विषय तय गर्दा होस् या सदनभित्रको भूमिकामा होस्, नेपाली कांग्रेसले बारम्बार सभामुख महरा स्वतन्त्र व्यक्ति भन्दा पनि पार्टीको स्वार्थमा चल्ने गरेको आरोप लगाउँदै आएका थिए । सभामुख महराका कारण सत्तारुढ नेकपालाई जति सहजता भएको थियो, नेपाली कांग्रेस र प्रतिपक्षका अन्य दलका लागि त्यो त्यति नै प्रत्युपादक थियो । उनीहरुको शब्दमा नेकपाको पेलेरै लैजाने रणनीतिमा महरा मुख्य सहयोगी बनेका थिए ।

अर्को कुरा, यही बीचमा अमेरिकाले नेपाललाइ ५ सय मिलियन अर्थात् करिब ५० करोड डलर बराबरको र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमएमसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने गरी सहयोग गर्ने कुरा अगाडि आयो ।

यो सहयोगलाई कतिपयले अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा नेपालको समर्थन खोजेको अर्थमा समेत ालोचना गर्दै आएका थिए । यो हिसाबले अमेरिका र सरकारभित्रकै एउटा पक्षले यो सम्झौतालाई संसदबाट पारित गराउन चाहन्थ्यो । संसदबाट पारित गराउन सकेको खण्डमा यसले सन्धी या सम्झौताको हैसियत पाउन सक्थ्यो र सरकार परिवर्तन भएको अवस्थामा समेत यो सरकारकालाई बाध्यकारी बन्थ्यो ।

श्रोतका अनुसार, सभामुख महरा भने यो सहयोग सम्झौतालाई सदनमार्फत वैधानिकता दिन पक्षमा थिएनन् । उनले सरकारले के गर्छ, त्यो सरकारको विषय भएपनि सदनमा भने यो विषय प्रवेश गर्न नदिने अडान लिएका थिए । श्रोतका अनुसार, नेकपाभित्रकै कतिपय शीर्ष नेता, सरकारका केही व्यक्ति र नेपाली कांग्रेसका केही सांसदहरुले सभामुखलाई सदनबाट यो पारित गराउन ठूलै दबाब दिएका थिए । तर सभामुखले यो कुरा स्वीकार नगरेपछि उनलाई जसरी पनि हटाउने षडयन्त्र शुरु भएको थियो ।

सभामुखले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत आइतबार एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालभित्र र नेपालबाहिर पनि महराको छवि चीन समर्थक कट्टर नेताको रुपमा चिनिन्छ । भारतीय शक्ति केन्द्र र रअ लगायतका खुफिया एजेन्सीहरुले महरालाई चीनको एजेन्ट समेतको आरोप लगाउँदै आएका छन् । यो अवस्थामा महराले बिआरआईका पक्षमा आन्तरिकरुपमा भूमिका खेलेको र इण्डो प्यासिफिकमा अमेरिकी स्वार्थ र भारतका विरुद्ध सदनमा भूमिका निर्वाह गरेको बुझाई उनीहरुको भएको श्रोतको दावी छ । सेप्टेम्बर २०१७ मा चीन भ्रमणको बेला उनले बिआरआईका पक्षमा दरो अडान लिएर नेपालको नीति परिवर्तन नहुने बताएपछि चीनियाँ मिडियाले उनको उच्च प्रशंसा समेत गरेका थिए ।

श्रोतका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनसँग असहमति राख्ने भारतले समेत सभामुख महराको यो अडान रुचाएको थिएन । भारतीय राजदूतावास र अन्य शक्तिले समेत कुटनीतिक च्यानलका माध्यमबाट महरालाई दबाब दिएका थिए ।

“महरा सरलाई जसरी पनि हटाउनु पर्नेमा एउटा ठूलै शक्ति लागेको थियो ।” श्रोतले भन्यो, “यही बीचमा ती महिला र महरा सरबीचको असन्तुष्टिसँग जोडिएका विषय उनीहरुले थाहा पाए, महिलाले आवेगमा आएर मेसेज पनि गरिछन्, अनि योजनाबद्ध तरिकाले उनलाई अघि सारियो ।”

सभामुख महराको विज्ञप्तीले पनि यही कुराको संकेत दिन खोजेको छ । उनले ती महिला ‘कठपुतली’ बनेको बताएका छन् । महिलाको मानसिक अवस्थामा आउने उतारचढावले उनलाई कठपुतली बन्ने अवस्थामा पुर्याएको कुरा आज महिला स्वयम्ले भिडियामार्फत सार्वजनिक गरेको कुराबाट पुष्टि समेत भएको छ ।

श्रोतका अनुसार, नेताहरुको नजिक भइसकेपछि उनीहरुबाट केही विशेष लाभ पाउने अपेक्षा सबैको हुनु स्वभाविकै हो । त्यसमा पनि ती महिलाका श्रीमान लामो समयदेखि महरा निकट रहेका भएको कारण अरुभन्दा अतिरिक्त सेवा, सुविधा र अवसरको कामना स्वभाविकै थियो । “त्यही अपेक्षाका आधारमा उनले महरा सरसँग केही समयदेखि बार्गेनिंगको शैलीमा कुरा गर्ने गरेकी थिइन । महराले भने सबै समस्या हल गर्ने बताउँदै आएका थिए ।” श्रोतको दावी छ, “तर यही बीचमा गलत तत्वहरुको संगतमा परेपछि उनले परिणामको ख्याल नै नगरी अनर्थ गर्न पुगिन ।”

मिडियामा प्रकाशित समाचार, ती महिलाले स्व्यम् भिडियोमा व्यक्त गरेका कुरा र उनको फेसबुकको स्टाटस हेर्दा उनीभित्र वर्तमान सरकार र सत्तारुढ दलका नेताहरुप्रति निकै ठूलो वितृष्णा देख्न सकिन्छ । कतिपय अवस्थामा त उनले निकै अस्वभाविक व्यवहार समेत गरेकी छिन् । पछिल्ला दिनहरुमा रवि लामिछाने, ज्ञानेन्द्र शाही समूहका सबैजसो पोष्टहरु शेयर गर्ने, सत्तारुढ दलका नेताहरुविरुद्ध लेख्ने, एकैदिन दुई दर्जनबढी पोष्ट गरेको समेत देख्न सकिन्छ ।

उनीभित्रको यही असन्तुष्टि र आक्रोशलाई महराविरुद्ध प्रयोग गर्न योजनाबद्ध तरिकाले उनलाई फसाईएको श्रोतको दावी छ । “महरा सरका कमी कमजोरी होलान्, मान्छे भएपछि कोही पनि देवता हुन सक्दैन ।” श्रोतले भन्यो, “तर यो घटना पूर्णरुपमा राजनीतिक स्वार्थ अनुरुप प्रायोजित छ । यसका तारहरु नेपालमा मात्रै छैनन्, कतिपय अन्तर्राष्ट्रि शक्तिकेन्द्रसँग पनि जोडिएका छन् ।”

प्रतिक्रिया दिनुहोस