घोराही प्रतिष्ठान परिसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी सरोकार निकाय, स्वास्थ्यकर्मी तथा नागरिक समुदायको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो । प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीको अध्यक्षता, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवम् संविधान सभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद देवकोटाले प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले सबै साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताइन् । उनले प्रतिष्ठान यस क्षेत्रको आम नागरिकको जीवनसँग जोडिएको अत्यन्तै गम्भीर क्षेत्र भएकाले राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर प्रतिष्ठानको गतिशिलताका लागि एकजुट हुन अपिल गरिन् । उनले तत्कालीन अवस्थामा सबै लदहरु मिलेर दाङमा प्रतिष्ठान ल्याउन गरेको कसरतको स्मरण गर्दै अव यसलाई गति प्रदान गर्न र जीवन्त बनाउन मेरो र तेरो भन्ने भावना त्यागेर हातेमालो गर्न आग्रह गरिन् ।अहिले प्रतिष्ठामा आउने बजेटलगायतका सेवा सुविधाहरुमा गरिएको कटौती कार्यरत कर्मचारी र पदाधिकारीलाई असहज बनाउन गरिएको खेल ठानिए पनि यसको प्रभावका यस क्षेत्रमा नागरिक परिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको जिकिर गरिन् । ‘प्रतिष्ठानलाई २ करोड बजेट दिएर सबै काम गर भन्नु अप्ठ्यारोमा पार्ने खेल हो, यसको असर नागरिकमा कति परिरहेको छ मिहिन तरिकाले बुझ्नु पर्छ कि पर्दैन ?’ सांसद देवकाेटाले भनिन् । यस्ता कुराका खिचातानी गरेर प्रतिष्ठान बन्धकमा पार्ने खेल गरिराख्ने हाे भने सरकारले दंगाली जनतामाथि नै कुठाराघात भएकाे ठहरिने उनकाे भनाइ थियाे ।यस्तै, विशिष्ट अतिथि संविधान सभा सदस्य राजु खनालले बाहिर कसले के भन्छ भन्ने कुरालाई ख्याल गर्ने भन्दा पनि प्रतिष्ठानको नीति, नियम र निर्देशिकाभित्र रहेर काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे । उनले दंगालीको सपना र स्वास्थ्यको आधार स्तम्भ प्रतिष्ठान रहेकाले ढिलो चाँडो बाहिर हल्ला गर्नेहरु साइजमा आउने तर्क गरे । जसका लागि नीजि र राजनीतिक स्वार्थ त्यागेर सामुहिक एकताको माध्यमबाट निकास खोज्न सबैमा अपिल पनि गरे ।